काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले आज(पुस ६गते)देखि बोलकबोलमार्फत सेयर बिक्री गर्ने भएको छ। कम्पनीले १३ लाख ४६ हजार २१८ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।
कम्पनीले गत कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म निष्कासन गरेकोमा सर्वसाधारण समूहतर्फबाट बिक्री नभएका १३ लाख ४६ हजार २१८ कित्ता हकप्रद सेयर लिलामीमा राख्न लागेको हो ।
लिलामी सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ र लगानीकर्ताहरुले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ।
बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा १० अंकले भाग जाने संख्या वा सम्पूर्ण १३ लाख ४६ हजार २१८ कित्तासम्मका लागि आवेदन दिनुपर्नेछ ।
कम्पनीको धितोपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताहरुले क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालय वा सिद्धार्थ बैंकका शाखा कार्यालयहरु विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा पुस १३ गते बैंकिङ समयसम्म बोलपत्र पेश गर्न सक्नेछन्।