काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले आज(शुक्रबारदेखि) हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले आफ्ना सेयरधनीहरुका लागि ४७ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो।
कम्पनीले गत वर्ष फागुन १२ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको अनुमति पाएपछि १ः०.४७ को अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयरधनीहरुका लागि निष्कासन गरेको हो।
कम्पनीले हकप्रद निष्कासनका लागि गत चैत १ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। यसर्थ फागुन ३० गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन्।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल रहेको छ। सिद्धार्थ क्यापिटलसँगै कम्पनीको काठमाण्डौको थापाथलीस्थित कार्यालय, सिद्धार्थ बैंकको विराटनगर, वीरगन्ज, पोखरा , बुटवल, नेपालगन्ज, धनगढी र सुर्खेतका साथै ग्लोबल आइएमई बैंक लिमिटेड शाखा कार्यालयहरु गोकुेलेश्वर, नौंगाड, खलंगा र बैतडीबाट आवेदन दिन सकिनेछ।
यसैगरी सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको शाखाकार्यलय र सीडीएससीको मेरो सेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ।
यो हकप्रदमा मंसिर ४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
कम्पनीको यो हकप्रदलाई इक्रा नेपालले औसतभन्दा तलको आधार संकेत गर्ने इक्रा एनपी आईपीओ ग्रेड ४ को रेटिङ प्रदान गरेको छ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ पुग्नेछ।