काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको ११ औँ वार्षिक साधारण सभा भदौ २६ गते शनिबारका दिन काठमाण्डौ थापाथलीमा रहेको कम्पनीको प्रधान कार्यालयमा जुम एपको माध्यमबाट सम्पन्न भएको हो ।
उक्त सभामा कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांस प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिएको छ । यस्तै बोनस सेयरपश्चात कायम हुने चुक्तापूँजीमा एक बराबर १ का दरले हकप्रद सेयरका लागि स्वीकृती प्रदान गरिएको छ ।
सभामा हाल कम्पनीको सञ्चालक समितिमा रहेका ७ जना सञ्चालकहरुको संख्या घटाएर सञ्चालक समितिको संख्यालाई ५ जनामा सीमित गर्ने प्रस्ताव पारित गरिएको छ । यसैगरी आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरिएको छ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिएको छ ।