काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र शंखरापुर नगरपालिका बिच नगरवासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र शंखरापुर नगरपालिकाका तर्फबाट नगर प्रमुख सुवर्ण श्रेष्ठले हस्ताक्षर गरेका छन्। उक्त सम्झौतापश्चात शंखरापुर नगरपालिकामा रहेका सम्पूर्ण कृषकले आफ्नो पशुपन्छी तथा बालिनालीको बीमा ढुक्कसँग आइएमई जनरल इन्स्योरेन्सबाट गर्नसक्ने छन् ।
सोही अवसरमा नगर प्रमुख श्रेष्ठले आफूले आफ्ना नगरावासी कृषकहरुको पशुपन्छी, बालिनालीको बीमापश्चात बीमा गरिएको कुनै पनि सम्पत्तिको हानी नोक्सानी भएमा सोको क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्ससँग सम्झौता गरी व्यवस्था मिलाएकाले कृषकहरुले अफनो सम्पत्तिको बीमा गरी ढुक्क भएर पशुपन्छी पालनलयागत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन बढाउन अनुरोध गरे।
आइएमई जनरल इन्स्योरेन्सले शंखरापुर नगरपालिकाले आफ्ना नगरवासीलगायत नगरभित्र रहेका कृषकहरुको सामूहिक हित हुने गरी कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा नगरवासीहरुलाई उच्च कोटीको बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। आफ्ना नगरवासीहरुको सम्पत्तिको बीमा गराएर सुरक्षित बनाउन उत्प्रेरकको भूमिका निर्वाह गरी सराहनीय कार्य गर्नु भएकोमा नगर प्रमुख श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेलगायत नगरपालिकाको टिमलाई धन्यवाद दिँदै कम्पनीले नगरवासीहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्सबाट प्राप्त गर्नसक्ने हुने हुनाले ढुक्क भएर सेवा लिन आग्रह गरेको छ।