आइएमई पे र मिडिया इन्टरनेसनलबीच सम्झौता

2021-07-08
आइएमई पे र मिडिया इन्टरनेसनलबीच सम्झौता

काठमाण्डौ। आइएमई पे र मिडिया इन्टरनेसनलबीच वित्तीय साक्षरता कार्यक्रमका लागि सम्झौता भएको छ।

सम्झौताअनुसार मिडिया इन्टरनेसनलको आयोजनामा देशका ७७ जिल्लामा सञ्चालन हुने फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी कार्यक्रमको मुख्य प्रायोजक आइएमई पे हुनेछ। सम्झौतापत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मिडिया इन्टरनेसनलका प्रवन्ध निर्देशक माधव निर्दोषले हस्ताक्षर गरेका छन्। 

सम्झौता आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले यो कार्यक्रम देशका सवै क्षेत्रमा वित्तीय साक्षरता पुर्याउन सफल हुने विश्वास व्यक्त गरे। त्यस्तै प्रबन्ध निर्देशक माधव निर्दोषले आइएमईसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए। 

भर्चुअल माध्यमबाट सञ्चालन हुने यस्ता कार्यक्रममा प्रशिक्षण प्रदान गर्नका लागि आइएमईले तालिम तथा प्रशिक्षण विभागका प्रमुख माधव कटुवाललाई जिम्मेवारी दिएको छ। 

आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैँले अथवा एजेन्टहरुको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ।


Share this with your friends: