काठमाण्डौ । आयोजना प्रभावित स्थानियका लागि निष्कासन गरिएको सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। हिजो(फागुन १७ गते) आयोजना प्रभावित स्थानियका लागि १४ लाख ५० हजार कित्ता आईपीओ बाँडफाँड गरिएको हो।
आयोजना प्रभावित स्थानियका लागि कम्पनीले गत माघ ४ गतेदेखि १८ गतेसम्म आईपीओ निष्कासन गरेको थियो। माग अनुसार आवेदन नपरेपछि कम्पनीले आईपीओ निष्कासनको समयावधि फागुन ३ गतेसम्म थपेको थियो। यो आईपीओमा १९ हजार २८२ स्थानिय आवेदकबाट १७ करोड ४५ लाख बढी मूल्य बराबरको आवेदन परेको थियो। यो मागभन्दा २०.३७ प्रतिशत धेरै हो।
बाँडफाँडको क्रममा १० देखि ४९० कित्ताका लागि आवेदन दिनेले आवेदन दिएजति नै सेयर प्राप्त गरे भने २९९ जना भाग्यशाली आवेदकले ५ सय कित्ताका दरले प्राप्त गरे।
कम्पनीले ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि अनुमति पाएको थियो। जसमध्ये पहिलो चरण अन्तर्गत १४ लाख ५० हजार कित्ता आयोजना प्रभावितका लागि निष्कासन गरिएको छ भने दोस्रो चरणमा बाँकी रहेको २९ लाख कित्ता आईपीओ भने सर्वसाधारणका लागि निष्कासन गरिनेछ।
आयोजना प्रभावित र सर्वसाधारणका लागि आईपीओ निष्कासन पश्चात कम्पनीको चुक्तापूँजी १.५ अर्ब रुपैयाँ पुग्नेछ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार सर्वसाधारणका लागि सम्भवत आउँदो चैत ०६ गते आईपीओ निष्कासन हुन सक्दछ।