काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरका लिलामी आज(फागुन १८ गते)देखि खुला गरिएको छ। बैंकको स्वामित्वमा रहेको संस्थाको संस्थापक समूहको २ लाख २० हजार कित्ता सेयरको लिलामी आजदेखि खुला गरिएको हो।
संस्थापक सेयरको न्यूनतम मूल्य रु ४३४ रुपैयाँ तोकिएको छ। सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा अन्य व्यक्ति, कम्पनी र संघसंस्थाहरुले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सेयर संख्याका लागि कुनै हद तोकिएको छैन।
सबैभन्दा पहिले विद्यमान संस्थापकहरुलाई पहिलो प्राथमिकता दिइनेछ र यसबाट पनि सेयर बाँकी रहेमा अन्य व्यक्ति, कम्पनी, संघसंस्थाहरु बीच बढी बोलकबोल गर्नेलाई बिक्री गरिनेछ।
कम्पनीका विद्यमान सेयरधनीले सेयर खरिद आवेदन दिदाँ सेयरधनी नम्बर उल्लेख गर्नुपर्नेछ।
संस्थापक सेयरको बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बबरमहलमा रहेको एनआईसी एशिया क्यापिटलको कार्यालयमा चैत २३ गते कार्यालय समयभित्र बोलपत्र आवेदन पेश गर्नु पर्नेछ।