काठमाण्डौ । इन्टरनेटको क्षेत्रमा चौधरी गुप्रले पाइला चालेको छ । सीजी कम्युनिकेसन्सले आजदेखि काठमाण्डौ उपत्यकामा इन्टरनेट सेवा सुरु गर्दै नेपालको इन्टरनेट क्षेत्रमा प्रवेश गरेको हो।
चौधरी गुप्रको सीजी नेटको प्रयोगबाट उपभोक्ताले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा नेट प्राप्त गर्ने चौधरी गुप्रले दाबी गरेको छ। उच्च गतिको इन्टरनेट सेवाबाट उपभोक्ताको कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने र सार्वजनिक एवम् निजी क्षेत्रबाट प्रवाह हुने सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको सिजी कम्युनिकेसन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सीजी कम्युनिकेसन्सले १२० एमबीपीएस गतिको ‘सीजी नेट’ ९९९ रुपैयाँमा उपलब्ध गराइने घोषणा गरेको छ । उपभोक्ताकेन्द्रित सेवा शुरु गरिएको र यसले उपभोक्ताको जीवनमा विल्कुलै नयाँ अनुभव गराउने विश्वास सिजीले व्यक्त गरेको छ ।
‘सीजी नेट’ देशव्यापी इन्टरनेट सेवाप्रदायक (आईएसपी) हो, जसले व्यावसायिक र व्यक्तिगत दुवैका लागि इन्टरनेट सेवा उपलब्ध गराउनेछ । हामीले निकट भविष्यमै आईपीटीभी र अन्य लोकप्रिय सेवा पनि बजारमा ल्याउनेछौं ।’ विज्ञप्तिमा भनिएको छ–‘भिडियो, ओटीटी प्लेटफर्म, ‘वर्क फ्रम होम’, अनलाइन कक्षाको बढ्दो प्रयोग र माग सम्बोधन गर्न ‘सीजी नेट’ले विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेको छ ।’
शुरुवातमा सिजी नेटको सेवा काठमाण्डौ उपत्यकाका तीनवटै जिल्लामा उपलब्ध हुनेछ । तत्कालका लागि जावलाखेल, झम्सीखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले हाम्रो सेवाको फाइदा उठाउन सक्नेछन् । १२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुनेछ । उल्लिखित क्षेत्रका उपभोक्ताका घरमा हाम्रो सेवा जडान गर्न सेवा माग गरिएको ६ देखि २४ घण्टाभित्र उपलब्ध हुने बताइएको छ । नेटवर्क विस्तारसम्बन्धी सम्पूर्ण जानकारी www.cgnet.com.np मा उपलब्ध छ । २०७८ को अन्त्यसम्ममा देशभर ‘सीजी नेट’ विस्तार गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
सिटी नेटका ग्राहक सेवाकेन्द्रहरू हालका लागि सीजी डिजिटलका शाखा– जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा हुने बताइएको छ । नेटवर्क विस्तारसँगै काठमाडौं उपत्यकाका अन्य क्षेत्रहरूमा पनि ग्राहक सेवा केन्द्रहरू थप गर्दै लग्ने कम्पनीको योजना रहेको छ ।
सिटी नेटले सेवा शुभारम्भका अवसरमा १२० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक ९९९ रुपैयाँ शुल्क तोकेको छ छ। वार्षिक प्याकेज लिने उपभोक्ताका लागि जडान र राउटर निःशुल्क गरिएको छ । त्यस्तै, मासिक, ३ महिने र ६ महिने प्याकेज लिँदा जडान र केबल निःशुल्क हुने बताइएको छ ।
सीजी कम्युनिकेसन्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाली उपभोक्तालाई उच्च गुणस्तर र सस्तो दरमा इन्टरनेट प्रदान गर्ने प्रतिवद्धता अनुसार ‘सीजी नेट’को सेवा प्रारम्भ गरिएको बताए । “दैनिक जीवनमा उच्च गतिको गुणस्तरीय इन्टरनेट अत्यावश्यक भइसकेको छ, माग पनि बढ्दो छ,” चौधरीले भने, “नेपालको प्रतिस्पर्धी ब्रोडब्यान्ड बजारमा आफ्नो दह्रिलो उपस्थिति जनाउन सीजीले कुनै कसर बाँकी राखेको छैन । मुलुकलाई डिजिटल युगमा लैजान हाम्रो उपस्थितिले ठूलो अर्थ राख्नेछ ।”
नोकियाको प्रविधिले उच्च गतिको सेवा प्रदान गर्न र भविष्यको बढ्दो बजारको मागलाई पूर्ति गर्न आफूहरू सक्षम हुने उनले बताए ।