इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने, दुबै संस्थाद्वारा साधारण सभा आह्वान

2021-06-14
इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने, दुबै संस्थाद्वारा साधारण सभा आह्वान

काठमाण्डौ । इन्फिनीटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । 

प्रािप्तको प्रस्ताव पारित गर्नका लागि यी दुबै संस्थाले साधारण सभा डाकेका छन् । दुवै संस्थाहरुले आगामी असार २१ गते साधारण सभा आह्वान गरेका छन् । प्राप्ति प्रयोजनका लागि इन्फिनिटी लघुवित्तले विशेष साधारण सभा र नेपाल एग्रो लघुवित्तले वार्षिक साधारण सभा आयोजना गर्न लागेका हुन् ।

इन्फिनीटी लघुवित्तको जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार २१ गते गैंडाकोटमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा बिहान ९ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा  इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने विशेष प्रस्ताव गरिनेछ । 

यस्तै सभामा सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः ०९८ शेयर स्वाप रेशियोमा प्राप्ति कार्यलाई अन्तिम स्वीकृती प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । उक्त सभामा संस्थाले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।

यस्तै प्राप्ति सम्बन्धि भएका सम्पूर्ण सम्झैताहरुलाई अनुमोदन गर्ने र प्राप्ति प्रायोजनका लागि नियुक्त लेखापरीक्षकको नियुक्तीलाई पारित गरिनेछ। सभामा प्राप्तिपश्चात चुक्ता पूँजी  वृद्धि हुने हुँदा सोहि बमोजिम बैंकको प्रबन्धपत्र संसोधन गर्ने प्रस्ताव पारित गरिनेछ। 

संस्थाले विशेष साधारण सभा प्रयोजनको लागि असार ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यसैगरी नेपाल एग्रो लघुवित्तले सभा सिटी स्क्वायर प्रालि पोखरामा बिहान ९ बजे सभा आयोजना गर्ने भएको छ । उक्त सभामा कम्पनीको आव २०७६/७७ को को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र ०.७३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

प्राप्ति प्रक्रियाका लागि हाल उक्त कम्पनीको दोस्रो बजारमा शेयर कारोबार रोक्का रहेको छ ।


Share this with your friends: