काठमाण्डौ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको चैत ९ गते बसेको सञ्चालक समितिको छैठौँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी चैत ३१ गते मंगलबारका दिन रुपन्देही भैरहवामा रहेको होटल पौवामा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा संस्थाको सञ्चालक समितिले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १७.८१०३८७२१ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै बोनस सेयरपश्चात कायम सर्वसाधारण सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न १ करोड ३७ लाख २८ हजार रुपैयाँ बराबरको एफपीओ(थप सेयर निष्कासन) जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। बोनस सेयर बाँडफाँड पश्चात तथा एफपीओ निष्कासन जारी पश्चात पूँजी वृद्धि गरी जारी तथा चुक्ता पूँजी १८ करोड ९८ लाख ९७ हजार ७०६.३८ रुपैयाँ तथा अधिकृत पूँजी ३८ करोड रुपैयाँ पुर्याउने र सोहि अनुरुप प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने प्रस्ताव पारित गरिनेछ।
सभामा वित्तीय संस्थाहरु एक आपसमा मर्जरपश्चात भएको एकीकृत कारोबार अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ। यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७६÷७७ को वार्षिक प्रतिवेदनमापथ छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व २०७६÷७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।
लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी चैत १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ चैत १७ गतेसम्म कायम सेयरधनी मात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।