काठमाण्डौ । काठमाण्डौ उपत्यकामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ। आज उपत्यकाका तीनवटा जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आगामी असार ७ गतेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो।
तर यो अवधिमा निषेधाज्ञालाई केहि खुकुलो भने बनाइएको छ। विकास निर्माणका काममा आवश्यक पर्ने पसललाई बेलुका चार बजेदेखि खुल्न दिने निर्णय भएको छ। यस्तै पहिले खाद्यान्न, तरकारी किराना पसल, फलफूल र पुस्तक पसलहरुलाई बिहान ९ बजेसम्म खोल्न दिइएकोमा अब बिहान ११ बजेसम्म खोल्न दिइने निर्णय गरिएको छ।
बीमा कम्पनी, वित्तीय संस्था, सहकारी संस्था, रेमिट्यान्स सेवा प्रदायकहरुलाई हप्ताको दुई दिन आइतबार र बिहीबार खोल्न दिने निर्णय गरिएको छ। अत्यावश्यक सेवाका लागि यातायातका साधन आफ्नो कार्यालयद्वारा जारी परिचय पत्र वा प्रमुख जिल्ला अधिकारीले जारी गरेको पासका आधारमा सञ्चालन गर्न दिइने छ।
एम्बुलेन्स, शव बाहनलगायत स्वास्थ्य सेवामा खटिने साधनले परिचय पत्र देखाउनु नपर्ने निर्णय गरिएको छ। विकास निर्माणका काममा स्वास्थ्य मापदण्ड पूरा गरेर मजदूरहरू राख्न पाइने छ। कृषिजन्य कामका लागि मल ढुवानी र बीऊ बिजनका पसलहरू खोल्न पाइनेछ। कुटनीतिक निकायबाट जारी हुने भिसा, परीक्षा र अन्तर्वार्ता खुला गरिएको छ।
यस्तै अनलाइन डेलिभरीका लागि होटलहरूलाई बिहान ७ बजेदेखि काम गर्न दिइने भएको छ।