काठमाण्डौ । यो साता बीमा कम्पनीहरुका लागि सुखद हुन सकेन। नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कारोबार भएका सबै जसो बीमा कम्पनीहरुकोे सेयरमूल्यमा यो एक साताको अवधिमा गिरावट आयो। लगानीकर्ता मुनाफा सुरक्षित गर्न तर्फ लाग्दा बिक्री चाप बढ्न गई बीमा कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको हो। अल्पकालिन लगानीकर्ता हाबी रहेको बजारमा लगानी सुरक्षित गर्दै समूह फेर्दै गर्ने प्रवृत्तिका कारण बीमा कम्पनीको सेयरमूल्यमा गिरावट आएको हो।
यो साता सबै जीवन बीमा कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ। जीवन बीमातर्फ एक सातको अवधिमा लाइफ इन्स्योरेन्स कम्पनी नेपालको सेयरमूल्यमा सर्वाधिक ९१ रुपैयाँको गिरावट आयो। गत साताको अन्तिम कारोबार दिन १९७० रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य यो साताको अन्तिम कारोबार दिन प्रतिकित्ता १८७९ रुपैयाँमा झर्यो।
त्यस्तै यो एक साताको अवधिमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य पनि प्रतिकित्ता ८० रुपैयाँका दरले घट्यो। गत साता १०७० रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य यो साताको अन्तिम दिन आइपुग्दा प्रतिकित्ता ९९० रुपैयाँ कायम भयो।
यसैगरी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा ५५ रुपैयाँको गिरावट आएको यो साता रिलायन्स लाइफको ४२ रुपैयाँ, सूर्या लाइफ ४० रुपैयाँ, प्राइम लाइफ ३८ रुपैयाँ, एशियन लाइफ २७ रुपैयाँ र गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा १७ रुपैयाँको गिरावट आयो।
निर्जीवन बीमा कम्पनी
यो साता निर्जीवन बीमा कम्पनीहरुमध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्य वृद्धि भयो। एक साताको अवधिमा आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता ६ रुपैयाँका दरले बढ्यो। गत साताको अन्तिम कारोबार दिन ६०५ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य यो साताको अन्तिम दिन ६११ रुपैयाँ कायम भयो।
निर्जीवन बीमा कम्पनीहरुमध्ये यो साता राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। गत साता १५७०१ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य यो साता १४७०५ रुपैयाँमा सीमित बन्यो। यसरी एक साताको अवधिमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९९६ रुपैयाँले घट्यो।
गत साता प्रतिकित्ता १२५३ रुपैयाँ रहेको नेको इन्स्योरेन्सको सेयरमूल्य यो साताको अन्तिम दिन ११६० रुपैयाँमा सीमित बन्यो। यसरी एक सातामा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९३ रुपैयाँका दरले घट्यो।
यस्तै हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य ४५ रुपैयाँले घट्यो। गत साता प्रतिकित्ता ६४६ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य यो साताको अन्तिम दिन ६०१ रुपैयाँ कायम भयो।
यो एक साताको अवधिमा शिखर इन्स्योरेन्सको सेयरमूल्यमा ४३ रुपैयाँको गिरावट आयो भने प्रिमियम इन्स्योरेन्स ३८ रुपैयाँ, नेपाल इन्स्योरेन्स ३६ रुपैयाँ, एनएलजी इन्स्योरेन्स ३३ रुपैयाँ, अजोड इन्स्योरेन्स ३१ रुपैयाँ, प्रभु इन्स्योरेन्स ३० रुपैयाँ, जनरल इन्स्योरेन्स २९ रुपैयाँ, सानिमा जनरल २८ रुपैयाँ, सगरमाथा इन्स्योरेन्स २६ रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्स २३ रुपैयाँ, लुम्बिनी जनरल र एभरेष्ट इन्स्योरेन्स समान १९ रुपैयाँ, युनाइटेड इन्स्योरेन्स १८ रुपैयाँ र सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्यमा प्रतिकित्ता १७ रुपैयाँको गिरावट आयो।