एनएमबि बैंकद्वारा हेलिकोप्टर चार्टर गरेर मनाङका बाढी प्रभावितलाई राहत वितरण

2021-06-21
एनएमबि बैंकद्वारा हेलिकोप्टर चार्टर गरेर मनाङका बाढी प्रभावितलाई राहत वितरण

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले मनाङ जिल्लाका बाढी प्रभावितलाई राहत वितरण गरेको छ। बैंकले हेलिकप्टर चार्टर गरेर मिनरल वाटर, स्यानिटाइजर र मास्क वितरण गरेको हो । 

एनएमबि बैंकको मनाङ शाखाका शाखा प्रमुख लभ गुरुङको संयोजकत्वमा शाखाका कर्मचारीहरु, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले, चामे गाउँपालिका वडा नं. ५ का अध्यक्ष कैले गुरुङ तथा स्थानीय समुदायको उपस्थितिमा राहात सामग्री वितरण गरेको बैंकले जनाएको छ । 

अचानक मौसम प्रतिकूल भएर बाढीले अलपत्र परेका तीनजना नाबालकसहित ५ जनालाई उक्त राहत वितरणमा गएको टोलीले हेलिकोप्टरबाट उद्घारस्वरुप उपचारका लागि काठमाण्डौ पठाएको छ। उद्घार गरिएकाहरुमा ६५ वर्षीय बुद्घराम गुरुङ, ९ वर्षीय जोहन गुरुङ, ७ वर्षीया आरध्या गुरुङ, ८ वर्षीया जेनिप गुरुङ र  २७ वर्षीया लक्ष्मी गुरुङ रहेका छन्।

विगत केही दिनयता लगातारको भारी वर्षापछिको पहिरोले मनाङका अधिकांश नदीहरु थुनिएका छन्। जसले गर्दा ती स्थानका सयौँ मानिसहरु घरबासविहीन भएका छन्। 

हाल चामे बजार जोखिममा रहेको हुनाले लगभग ९०० घरधुरी आफ्नो बसोबास स्थान छाडेर सुरक्षित स्थानमा बसिरहेका छन्। बाढीले सडक, पुललगायतका सार्वजनिक संरचनामा पनि निकै क्षति पुर्याएको छ । चामे गाउँपालिका वडा नं। ४ र ५ जोड्ने स्थानमा मस्र्याङ्दी नदीमा पहिरो खस्दा बहाव थुनिएको छ। 

निरन्तर वर्षाका कारणले नदीमा पानीको सतह थप बढेको हुनाले चामे बजार उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। 


Share this with your friends: