एफपीओ निष्कासन गर्ने मुख्य अजेन्डा सहित मिर्मिरे लघुवित्तले डाक्यो वार्षिक साधारण सभा

2021-03-08
एफपीओ निष्कासन गर्ने मुख्य अजेन्डा सहित मिर्मिरे लघुवित्तले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको सञ्चालक समितिको बैठकले दशौँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आउँदो चैत १८ गते बुधबारका दिन बनेपास्थित पञ्चकन्या बैंन्क्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको हो। सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित ९.१९ प्रतिशत बोनस सेयर र०.४८ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै मिर्मिरे लघुवित्तले स्वेडा लघुवित्तलाई प्राप्ति पश्चात संस्थापक सेयर र सर्वसाधारण सेयरपूँजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकमलाई प्रिमियममा एफपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 

सभामा अन्य कुनै एक वा एकभन्दा बढी वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनुका साथै कल्स इन एडभान्सको रकम सेयर पूँजीमा समायोजन गर्दा एफपीओ निष्कासन गर्दा र बोनस सेयर वितरण र पश्चात संस्थाको पूँजी वृद्धि हुने भएकाले अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरिनेछ। 

यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

संस्थाले लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि आउँदो चैत ०८ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ चैत ०७ गतेसम्म कायम सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन्। 

 


Share this with your friends: