परिसूचकसँगै दुवै बीमा समूहमा हरियाली, सेयर किनबेच भने घट्यो

2020-12-28
परिसूचकसँगै दुवै बीमा समूहमा हरियाली, सेयर किनबेच भने घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा समूहमा हरियाली छाएको छ। आज निर्जीवन बीमा समूह ७५.३३ अंकले बढ्दै ९३७७.८२ को उचाईमा पुग्यो। यसैगरी जीवन बीमा समूह पनि २९.६५ अंकले उकालो लाग्दै १३२१५.३९ को बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी रह्यो। आज यो कम्पनीको सेयरमूल्य ५.६४ अंकले बढ्दै प्रतिकित्ता ५९९ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचक ८.५७ अंकले बढ्दै २००७.२९ को उचाईमा पुग्यो। आज कारोबार रकम र संख्यामा गिरावट आएको छ। यो दिन बजारमा २१४ कम्पनीका ७४ लाख ९७ हजार ३८४ कित्ता सेयर ३ अर्ब ८५ करोड ३ लाख २० हजार ०४५ रुपैयाँमा किनबेच भयो। अघिल्लो कारोबार दिन ७८ लाख ६९ हजार ०१२ कित्ता सेयर ४ अर्ब ४३ करोड ४१ लाख ५४ हजार ५९० रुपैयाँमा किनबेच भएको थियो। 

आज बजारमा ३ वटा समूह बाहेक अन्य सबैमा हरियाली छायो। बैंकिङ समूह ९.३४ अंकले बढेको आज होटल ३.४३, हाइड्रोपावर २.७४, वित्त २.०५, उत्पादन तथा प्रशोधन ९७.७९, लघुवित्त ६.०८ र म्युचुअल फन्ड ०.०३ अंकले बढे। 

आज सबैभन्दा धेरै गिरावट व्यापार समूहमा आयो। व्यापार सूमह ४८.६५ अंकले घटेको आज विकास बैंक १०.२९ र अन्य ०.९८ अंकले ओरालो लागे। 

आज दुईवटा कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। नारायणी डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्सका सेयरमूल्यमा झन्डै १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लाग्यो।
यो दिन एसबीएल डिबेन्चर–२०८२ को इकाइमूल्यमा सबैभन्दा बढी ८ प्रतिशतको हाराहारीमा गिरावट आयो। 

यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ३४ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नागरिक लगानी कोषको ३२ करोड ३५ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको ३० करोड रुपैयाँ, नबिल बैंकको २४ करोड ३४ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको २१ करोड १७ लाख रुपैयाँ, एनसीसी बैंकको १८ करोड ११ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको १२ करोड ७४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ४९ लाख रुपैयाँ, प्रभु बैंकको ९ करोड १८ लाख रुपैयाँ र प्राइम कमर्सियल बैंकको ८ करोड ९४ लाख रुपैयाँबराबरको कारोबार भयो।

 


Share this with your friends: