काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ। संस्थाको चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले दशौँ र एघारौँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी वैशाख ७ गते पोखरामा रहेको होटल टास्क इन्टरनेशनल प्रा.लि मा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरिनेछ। यसका साथै संस्थाको हाल कायम कुल पूँजी संरचनामा संस्थापक तथा सर्वसाधारण समूहको सेयर स्वामित्व क्रमशः ५४.५२ प्रतिशत र सर्वसाधारण समूहको सेयर स्वामित्व ४५.४८ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। अहिले संस्थामा संस्थागत समूहको सेयरम स्वामित्व ६४.५२ प्रतिशत र सर्वसाधारण समूहको ४५.४८ प्रतिशत रहेको छ।
सभामा एक वा एक भन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनका लागि सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७५/७६ र २०७६/७७ को वार्षि प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा आ.व २०७५/७६ र २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन सहित २०७६ असार मसान्त र २०७७ असार मसान्तको वासलात,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु तथा साविकको जनसेवी लघुवित्तको आ.व २०७५/७६ र २०७६ साउन १ देखि पुस २२ सम्मको वित्तीय विवरण स्वीकृत गर्ने तथा आ.व २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत सभाबाट पारित गरिनेछ।
लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी चैत २२ गतेदेखि वैशाख ७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।