काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज निर्जीवन बीमा उपसूचक उकालो लाग्यो भने जीवन बीमा उपसूचक भने ओरालो लागेको छ। आज निर्जीवन बीमा उपसूचक १४२.२९ अंकले बढ्दै १४७६१.५६ बिन्दुको उचाईमा पुुग्यो। यो दिन जीवन बीमा उपसूचक १३६.३६अंकले घट्दै १८४३७.७७ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज राष्ट्रिय बीमा संस्थानको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य ७.९१ प्रतिशतले बढ्दै प्रतिकित्ता २३,२०० रुपैयाँ कायम भयो।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचक सामान्य अंकले घट्यो। परिसूचक १.२० अंकले घट्दै २८१५.३९ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २१५ कम्पनीका ४ करोड १८ लाख १३ हजार ९९४ कित्ता सेयर १४ अर्ब ७६ करोड ८८ लाख ८ हवार ४९२ रुपैयाँमा किनबेच भयो। आज भएको कारोबार रकम र कारोबार कित्ता अहिलेसम्मकै सबैभन्दा धेरै हो।
१३ वटा समूहमध्ये आज ७ वटा समूहमा हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो। आज व्यापार समूहमा उछाल आयो। यो समूह २८१.५३ अंकले बढ्यो भने विकास बैंक ११४.३, हाइड्रोपावर १३१.७८, वित्त ३६.८१, उत्पादन तथा प्रशोधन ३२.६ र म्युुचुुअल फन्ड ०.०८ अंकले बढ्यो।
लघुवित्त समूहमा आज सबैभन्दा धेरै गिरावट आयो। यो समूह १९१.६९ अंकले घट्यो। यस्तै बैंकिङ समूह ६.४६, होटल एण्ड टुरिजम १४.८३, अन्य २४.०२ र लगानी समूह ०.६७ अंकले घट्यो।
आज तीनवटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। खानीखोला हाइड्रोपावर, युनाइटेड मोदि र नेपाल हाइड्रो डेभलपर्सको सेयरमूल्य १० प्रतिशतले बढ्दै पोजेटिभ सक्रिट लाग्यो। अरुण काबेलीको सेयरमूल्य ९.९८, रिडि हाइड्रोपावर ९.९७, जोशी हाइड्रोपावर ९.९६, अपि पावर ९.९४ र दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्य ९.९१ प्रतिशतले बढ्यो।
आज समता घरेलु लघुवित्तको सेयरमूल्यमा सर्वाधिक अर्थात ५.२३ ले घट्यो। यसैगरी मेरो माइक्रोफाइनान्स ५.०६, एनएमबी माइक्रोफाइनान्स ४.८४, एनआईसी एशिया लघुवित्त ४.८४ र नेरुडे लघुवित्तको सेयरमूल्य ४.७३ प्रतिशतले घट्यो। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय स.स्थाहरुलाई लघुवित्तहरुको सेयर खरिद गर्न प्रतिबन्ध लगाएपछि लघुवित्त कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको हो।
यो दिन अपि पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। कम्पनीको ४३ करोड २८ लाख बढीको सेयर कारोबार भयो भने अरुण काबेलीको ३७ करोड ७४ लाख, चिलिमे हाइड्रोपावर ३७ करोड ३ लाख र युनाइटेड मोदिको ३५ करोड ५४ लाख बढीको सेयर कारोबार भयो।