केन्द्रिय कार्यालयमा २०% र शाखा कार्यालयहरुमा २५%भन्दा कम कर्मचारीका साथ सेवा प्रदान गर्न राष्ट्र बैंकको निर्देशन

2021-05-02
केन्द्रिय कार्यालयमा २०% र शाखा कार्यालयहरुमा २५%भन्दा कम कर्मचारीका साथ सेवा प्रदान गर्न राष्ट्र बैंकको निर्देशन

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा जारी भएका स्थानहरुमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको केन्द्रिय कार्यालयहरुमा २० प्रतिशतभन्दा कम कर्मचारी तथा शाखा कार्यालयहरुको हकमा २५ प्रतिशतभन्दा कम कर्मचारीको उपस्थितिमा सेवा प्रदान गर्न निर्देशन जारी गरेको छ। 

राष्ट्र बैंकले कोरोना संक्रमणको जोखिम बढ्दै गएको र नयाँ भेरियन्टको संक्रमण दर उच्च रहेको तथा बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारी तथा सेवाग्राहीमा समेत तिव्र रुपमा संक्रमण फैलिरहेका कारण उच्च सतर्कताका साथ बैंक तथा वित्तीय संस्थाको सेवा सुनिश्चिता गर्नुपरेकाले यस्तो निर्देशन जारी गरिएको जनाएको छ। 

यस्तै राष्ट्र बैंकले नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धि मापदण्ड पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ती तथा सेवाग्राहीमा संक्रमणको जोखिम न्यूनिकरण गर्न आवश्यक सम्पूर्ण उपायहरु अबलम्बन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गरेको छ। 

निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीको अनावश्यक उपस्थिति रोक्नका लागि सूचना प्रविधिको उच्चतम प्रयोग गरी वर्क फ्रर्म होम र रिमोट एक्सेसबाट कार्यसम्पादन गर्नुपर्नेछ। 

राष्ट्र बैंकले नजिकै रहेका शाखा कार्यालयहरुको हकमा न्यून शाखाहरु सञ्चालनमा ल्याई वैकल्पीक शाखा कार्यालयबाट आलोपालो गरी सेवा प्रदान गर्ने व्यवस्था मिलाउन र विद्युतीय माध्यमबाट सेवा प्रदानमा जोड दिन निर्देशन दिएको छ। यसैगरी विभिन्न निकायबाट जारी भएका÷हुने निषेधाज्ञाको पालना गर्न र स्थानिय निकायको समन्वयमा शाखा कार्यालय सञ्चालन गरी बैंकिङ सेवा प्रदान गर्न निर्देशन दिइएको छ।      

 


Share this with your friends: