कोरोना महामारीबाट प्रभावित करदातालाई विशेष छूट

2021-06-17
कोरोना महामारीबाट प्रभावित करदातालाई विशेष छूट

काठमाण्डौ । काठमाण्डौँ महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छूट दिने भएको छ ।

महानगरपालिकाले बिहीवार आयोजित आव २०७८र ७९ को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा कोभिड–१९ महामारीबाट प्रभावित करदातालाई विशेष कर छूटको व्यवस्था गर्ने बताएको छ ।  
     
‘यसका लागि बहालमा बस्ने व्यक्तिको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीलाई घरबहाल रकममा १० प्रतिशत वा २५ हजार रुपैयाँमध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट दिइनेछ, यस कार्यका लागि निजी क्षेत्रसमेत परिचालन गरिनेछ’, नीतिमा भनिएको छ, ‘कामपालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइनेछ, कोभिड–१९ महामारीबाट प्रभावित करदाता तथा सार्वजनिक– निजी साझेदारीअन्तर्गत सञ्चालित कार्यक्रमलाई छूटर सहुलियत दिइनेछ ।’     
     
कोभिड–१९ बाट प्रभावित व्यवसाय (जस्तै होटल, पर्यटनलगायतका क्षेत्र) लाई उल्लेख्य छूट दिने नीतिमा उल्लेख छ ।

शहरी सेवा वितरणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायसँगको सहकार्यमा कामपा क्षेत्रमा अस्थायीरूपमा बसोबास गर्ने व्यक्तिको लगत राखिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।  
–रासस


Share this with your friends: