कोरोना उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन हुने

2021-05-20
कोरोना उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन हुने

काठमाण्डौ । कोभिड–१९ संक्रमितको उपचारका लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन हुने भएको छ । 

औषधि व्यवस्था विभागले रेम्डेसिभिर उत्पादन गर्ने अनुमति दिएपछि नेपालमा नै उत्पादन हुने भएको हो । 

विभागका सूचना अधिकारी सन्तोष केसीले रेम्डेसिभिर उत्पादन गर्नका लागि वीरगञ्जस्थित नेशनल हेल्थ केयरलाई अनुमति दिइएको जानकारी दिए । औषधि उत्पादन गर्ने कम्पनीका सबै संरचना हेरेर र उत्पादन गर्ने सक्ने भएपछि मात्र अनुमति दिइएको जनाइएको छ ।

यसअघि नेपालमा सो औषधि भारत र बंगलादेशबाट ल्याउने गरिएको थियो । औषधिको मूल्य करीब रू। पाँच हजार पर्छ । नेशनल हेल्थ केयरका उपाध्यक्ष अजय पाण्डेले अनुमति पाइसकेपछि चीनबाट कच्चा पदार्थ ल्याउने तयारी गरिएको जानकारी दिए । 

यही जेठ १७ गतेसम्म औषधिका लागि कच्चा पदार्थ ल्याइने र १५ दिनपछि उत्पादन गरेर बजारमा पुर्‍याइने बताइएको छ ।

 

 

 

 

 रासस


Share this with your friends: