काठमाण्डौ। साताको अन्तिम कारोबार दिन आज बीमा समूहहरुको प्रदर्शन उल्लेख्य हुन सकेन। आज जीवन बीमा समूह १.३५ को झिनो अंकले बढ्दै ९७०५.१३ को उचाइएमा पुग्यो। अघिल्लो कारोबार दिन यो समूहमा १२.६७ अंकको गिरावट आएको थियो।
अघिल्लो कारोबार दिनको तुलनामा जीवन बीमा समूहमा सुधार देखिएपनि आज निर्जीवन बीमा समूहमा भने गिरावट आयो। आज निर्जीवन बीमा समूह १६.१८ अंकले घट्दै ८१९०.४९ को बिन्दुमा सीमित बन्यो। अघिल्लो दिन पनि यो समूहमा १७६.८६ अंकको गिरावट आएको थियो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा सानिमा जनरल इन्स्योरेन्स कम्पनी रह्यो। आज यो कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढ्दै प्रतिकित्ता ३७६ रुपैयाँ कायम भयो।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचक ४.४७ अंकले ओरालो लाग्दै १६३६.१७ को बिन्दुमा सीमित बन्यो। यो दिन बजारमा २ सय कम्पनीका ९१ लाख २३ हजार ८९६ कित्ता सेयर २ अर्ब ८४ करोड २४ लाख ६९ हजार १७७ रुपैयाँमा किनबेच भयो।
आज ४ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य ८ वटा समूहमा भने रातो पोतियो। आज सबैभन्दा धेरै वृद्धि हाइड्रोपावर समूहमा देखियो। आज यो समूह १३.९३ अंकले उकालो लाग्यो। त्यस्तै होटल समूह ४.८६ र विकास बैंक ५.०५ अंकले उकालो लागे।
आज सबैभन्दा धेरै गिरावट व्यापार समूहमा आयो। आज यो समूह १९.०३ अंकले घट्यो। यस्तै बैंकिङ समूह ७.९ अंकले घटेको यो दिन वित्त, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र म्युचुअल फन्ड क्रमश ७.९, ०.२, ४.२१, ०.६७, १३.३४ र ०.०२ अंकले घटे।
आज ३ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लाग्यो। सानिमा जनरल इन्स्योरेन्स, राइराङ हाइड्रोपावर र गोर्खाज फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन सिन्धु विकास बैंकको सेयरमूल्यमा ९ प्रतिशत बढीको उछाल आयो।
आज विशाल बजार कम्पनीको सेयरमूल्यमा सार्वधिक ८।५ प्रतिशतको गिरावट आएको छ। यस्तै शिवश्री हाइड्रोपावरको सेयरमूल्य पनि ८ प्रतिशतको हाराहारीमा घट्यो।
आज नेप्सेमा सूचीकृतमध्ये २०० कम्पनीका ९१ लाख २३ हजार ८९६ कित्ता सेयर २ अर्ब ८४ करोड २४ लाख ६९ हजार १७७ रुपैयाँमा कारोबार भयो।
यो दिन प्राइम कमर्सियल बैंकको सार्वधिक २० करोड ८४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण काबेली पावरको १८ करोड ५४ लाख रुपैयाँ बढीको कारोबार भएकोे आज एभरेस्ट बैंकको १६ करोड ४५ लाख रुपैयाँ, अपी पावरको १४ करोड ३४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १० करोड २ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ७ करोड ६१ लाख रुपैयाँ, प्रभु बैंकको ७ करोड ३७ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको ७ करोड २६ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ९७ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको ५ करोड ३६ लाख रुपैयाँबराबरको कारोबार भयो।