काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ४५३.९ अंकले ओरालो लाग्दै १५८४२.७५ को बिन्दुमा सीमित बन्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३७४.५३ अंकले घट्दै १२०६८.९१ को बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनी रहे। आज शिखर इन्स्योरेन्सको सेयरमूल्य ६.५५ प्रतिशतले घटदै प्रतिकित्ता १८४१ रुपैयाँ कायम भयो भने नेपाल इन्स्योरेन्सको सेयरमूल्य पनि ६.०८ प्रतिशतले घट्दै प्रतिकित्ता ८४९ रुपैयाँ कायम भयो।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ५१.२३ अंकले घट्दै २४०७.२५ को बिन्दुमा सीमित बन्यो। यो दिन बजारमा २११ कम्पनीका ९९ लाख ३ हजार ७०४ कित्ता सेयर ४ अर्ब ९५ करोड २७ लाख २२ हजार १९५ रुपैयाँमा किनबेच भयो।
१३ वटा समूहमध्ये आज दुईवटा समूहमा मात्रै हरियाली छायो। आज होटल एण्ड टुरिजम समूह ६१.१२ अंकले बढ्यो भने हाइड्रो समूह पनि ४७.८२ अंकले बढ्यो।
बैंकिङ समूह ३२.३३ अंकले घटेको आज व्यापार समूह २१३.१६, विकास बैंक ३७.८४, वित्त १८.८९, उत्पादन तथा प्रशोधन ९६.३४, अन्य ९६.३६, लघुवित्त ९०.६८, म्युचुअल फन्ड ०.२ र लगानी समूह २.५६ अंकले घटे।
आज चन्द्रागिरी हिल्सको सेयरमूल्य ९.९५ प्रतिशतले बढ्यो भने अपर तामाकोशी ९.८५, पञ्चकन्या माईहाइड्रो ९.७४, घलेम्दी हाइड्रो ९.७२ र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ९.०४ प्रतिशतले बढ्यो।
आज हिमालयन पावर पार्टनरको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ९.८६ प्रतिशतले घट्यो। यसैगरी नेपाल हाइड्रो डेभलपर्सको सेयरमूल्य ७.९५ प्रतिशतले घटेको आज नेपाल टेलिकमको ६.५६, शिखर इन्स्योरेन्स ६.५५ र नेपाल इन्स्योरेन्सको सेयरमूल्य ६.०८ प्रतिशतले घट्यो।
यो दिन अपर तामाकोशीको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको ४४ करोड ५६ लाख बढीको सेयर कारोबार भयो। यस्तै निफ्राको २७ करोड ५६ लाख, नविल बैंक २० करोड ६६ लाख, नेपाल लाइफ इन्स्योृरेन्स १९ करोड ६७ लाख र ग्लोबल आइएमई बैंकको १६ करोड ११ लाख बढीको सेयर कारोबार भयो।