ग्रिन भेन्चर्सको आईपीओ बाँडफाँड सम्पन्न,१८ लाख बढीको हात खाली

2022-04-03
ग्रिन भेन्चर्सको आईपीओ बाँडफाँड सम्पन्न,१८ लाख बढीको हात खाली

काठमाण्डौ । ग्रिन भेन्चर्स लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ बाँडफाँड आज धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको नयाँ बानेश्वरमा रहेको कार्यालयमा सम्पन्न भएको हो । 

मागभन्दा बढी आवेदक परेका कारण कम्पनीको आईपीओ बाँडफाँड गोलाप्रथाका माध्यमबाट गरिएको हो । कम्पनीको आईपीओमा कुल २१ लाख ११ हजार ६४९ आवेदकबाट २ करोड ४३ लाख ५१ हजार ८८० कित्ता सेयरका लागि खरिद माग भएको थियो । कुल आवेदनमध्ये २१ लाख ६ हजार ५१६ आवेदन सदर भएका छन् भने ५ हजार १३३ आवेदन बदर भएका छन् । 

यो आईपीओमा २ लाख ८७ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। त्यस्तै बाँकी १८ लाख १९ हजार १६ आवेदकको हात भने खाली भएको छ । 

कम्पनीले गत चैत ८ गतेदेखि आम सर्वसाधारणका लागि ३१ करोड २५ लाख रुपैयाँको रु. १०० अंकित दरका ३१ लाख २५ हजार कित्ता सेयर आईपीओ निष्कासन गरेको थियो । 

निष्कासन गरिएको सेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता म्युचुअल फन्डका लागि र बाँकी रहेको २८ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।  


Share this with your friends: