जीवन बीमा कम्पनीहरुद्वारा १.२० खर्ब कुल बीमाशुल्क आर्जन, नेपाल लाइफ शीर्ष स्थानमा

2021-07-22
जीवन बीमा कम्पनीहरुद्वारा १.२० खर्ब कुल बीमाशुल्क आर्जन, नेपाल लाइफ शीर्ष स्थानमा

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अन्त्यसम्ममा १ खर्ब रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालनमा रहेको १९ वटा जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् । 

यो अवधिसम्ममा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३२ अर्ब ८४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । एलआईसी नेपाल दोस्रो स्थानमा रहेको छ । कम्पनीले यो अवधिसम्ममा १७ अर्ब १४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । तेस्रो स्थानमा रहेको नेशनल लाइफले १२ अर्ब १६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । 

७ अर्ब ४१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दै राष्ट्रिय बीमा संस्थान चौथो स्थानमा रहेको छ । सूचीको पाचौँ स्थानमा रहेको यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले ६अर्ब ७७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । 

यसैगरी एशियन लाइफले ५ अर्ब ९२ करोड, मेट लाइफ ५ अर्ब २ करोड, सूर्या लाइफ ४ अर्ब २६ करोड, प्राइम लाइफ ४ अर्ब ३ करोड, गुराँस लाइफ ३ अर्ब ६८ करोड, सिटिजन लाइफ ३ अर्ब ५९ करोड र ज्ोति लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब १ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छन् । 
असार मसान्तसम्ममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ९९ करोड, आइएमई लाइफ २ अर्ब ७९ करोड, सन नेपाल लाइफ २ अर्ब २२ करोड, सानिमा लाइफ १ अर्ब ९५ करोड, प्रभु लाइफ १ अर्ब ४५ करोड र महालक्ष्मी लाइफले १ अर्ब ६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।  

 


Share this with your friends: