काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ ।
संस्थाको आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा आज बिहान फेसबुक लाइभ कार्यक्रममार्फत सम्पन्न भएको हो ।
संस्थाको आईपीओमा कुल २० लाख ८७ हजार ३ सय १७ खरिद आवेदन परेको थियो । कुल आवेदनमध्ये ६९ हजार ९ जनाको आवेदन मध्ये अयोग्य भएको क्यापिटलले जनाएको छ । मागभन्दा बढी आवेदन परेका कारण आईपीओको बाँडफाँड गोलाप्रथाबाट गरिएको थियो
रितपूर्वक आवेदन दिएका १ लाख ८४ हजार ८ सय १ जनाले १० कित्ता शेयर पाएका छन् भने ५ जनाले ११ कित्ता शेयर पाएका छन् र बाँकी १९ लाख २ हजार ५ सय १६ जना आवेदकको हात भने रित्तो भएको छ ।
संस्थाले गत असार ११ गतेदेखि असार १५ गतेसम्म कुल १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा ३० हजार ४२० कित्ता कर्मचारीलाई र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी १८ लाख ४८ हजार १५ कित्ता भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।
संस्थाले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट गत जेठ ३० गते आईपिओ निष्काशनको लागि अनुमति प्राप्त गरेको थियो । संस्थाको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।