काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७÷७८ को जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ३५ अर्ब बढी प्रथम बीमाशुल्क आर्जन गरेका छन् । आर्थिक वर्षको यो ११ महिनाको अवधिसम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुले ३५ अर्ब १९ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका हुन् ।
यो अवधिसम्ममा सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन नेपाल लाइफ इन्स्योरेन्स कम्पनील गरेको छ । कम्पनीले यो अवधिसम्ममा ७ अर्ब ४९ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । नेशनल लाइफले ३ अर्ब १८ करोड रुपैयाँ आर्जन गरेको छ ।
त्यस्तै ३ अर्ब १७ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्दै एलआईसी नेपाल तेस्रो स्थानमा रहेको छ । सूचीको चौथो स्थानमा यूनियन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको ११ महिनासम्मको अवधिमा २ अर्ब ६६ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
१ अर्ब ९७ करोड प्रथम बीमाशुल्क आर्जन गर्दै रिलायबल नेपाल लाइफ सूचीको पार्चौँ स्थानमा रहन सफल भएको छ ।
यसैगरी एशियन लाइफले १ अर्ब ७८ करोड, सूर्या लाइफ १ अर्ब ७१ करोड, ज्योति लाइफ १ अर्ब ६२ करोड, सिटिजन लाइफ १ अर्ब ५९ करोड, गुराँस लाइफ १ अर्ब ४५ करोड, मेट लाइफ १ अर्ब ३४ करोड, रिलायन्स लाइफ १ अर्ब २५ करोड, प्राइम लाइफ १ अर्ब १३ करोड, सानिमा लाइफ १ अर्ब ९ करोड र आइएमई लाइफले १ अर्ब ८ करोड रुपैयाँबराबरको प्रथम बीमाशुल्क आर्जन गरेको छ ।
यस अवधिसम्ममा प्रभु लाइफ इन्स्योरेन्सले ७५ करोड, सन नेपाल लाइफ ७३ करोड, राष्ट्रिय बीमा संस्थान ६९ करोड र महालक्ष्मी लाइफले ५१ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।