काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १४ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी पुस २३ गते शुक्रबारका दिन काठमाण्डै नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ११ बजे सभा सञ्चालन गर्ने निर्णय गरेको छ।
सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको ११ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांस गरी कुल १५.५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनुका साथै सोहि हदसम्म जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव स्वीकृत गरिनेछ। यस्तै अन्य कुनै बैंक तथा वित्तीय संस्थालाई गाभ्ने वा प्राप्ति गर्ने सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। यस्तै बैंकको अधिकृत पूँजी ५ अर्बबाट वृद्धि गरी ८ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरिनेछ ।
सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।
बैंकले साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि आगामी पुस ९ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।