तिहारको बिदापछि खुलेको बजारमा हरियाली, बीमा समूहका लगानीकर्ता मालामाल

2020-11-18
तिहारको बिदापछि खुलेको बजारमा हरियाली, बीमा समूहका लगानीकर्ता मालामाल

काठमाण्डौ । तिहारको बिदापछि खुलेको सेयर बजारमा आज दुवै बीमा समूहमा उछाल आएको छ। आज १२ वटा समूहमध्ये सबैभन्दा धेरै वृद्धि जीवन बीमा समूहमा आयो। आज जीवन बीमा समूह ५२१.३७ अंकले बढ्दै १०७५०.७१ को उचाईमा पुग्यो। 

जीवन बीमा समूह जस्तै आज निर्जीवन बीमा समूहमा समेत उछाल आयो। आज निर्जीवन बीमा समूह ३९७.४८ अंकले बढ्दै ९२११.४८ को उचाईमा पुग्यो। 
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा शिखर इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनी रहे। आज शिखर इन्स्योरेन्सको सेयरमूल्य ८.३८ प्रतिशतले बढ्दै प्रतिकित्ता १६०३ रुपैयाँ कायम भयो। त्यस्तै नेपाल इन्स्योरेन्सको सेयरमूल्य पनि ७.३३ प्रतिशतले बढ्दै प्रतिकित्ता ६१५ रुपैयाँ कायम भयो। आज नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य पनि ७.३३ प्रतिशतले वृद्धि भयो। लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालको सेयरमूल्य ६.०५ प्रतिशतले बढेको यो दिन नेको इन्स्योरेन्सको ५.९९ प्रतिशत, प्रुडेन्सियल इन्स्योरेन्स ५.८० प्रतिशत, नेपाल पुनर्बीमा कम्पनी ५.४९, सूर्या लाइफ इन्स्योरेन्स ५.४२ प्रतिशत, हिमालयन जनरल इन्स्योरेन्स ४.५ प्रतिशत, प्रिमियम इन्स्योरेन्स ४.२७ प्रतिशत, प्रभु इन्स्योरेन्स ४.२५ प्रतिशत र प्राइम लाइफ इन्स्योरेन्स ४.११ प्रतिशतले बढे। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचक दोहोरो अंकले उकालो लाग्यो। नेप्से परिसूचक २३.३२ अंकले बढ्दै १७४१.८१ को उचाईमा पुग्यो। यो दिन बजारमा १९४ कम्पनीका १ करोड १६ लाख ७४ हजार ८७५ कित्ता सेयर ४ अर्ब ७९ करोड १० लाख ४१ हजार ६४९ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा ३ वटा समूह बाहेक अन्य सबै समूहमा हरियाली छायो। आज व्यापार समूह १८१.०८ अंकले बढ्यो भने होटल ३९.६, वित्त ८.४३, उत्पादन तथा प्रशोधन २३५.४५, अन्य २९.९७, लघुवित्त १४.६ र म्युचुअल फन्ड ०.१६ अंकले बढे। 

आज विकास बैंक समूहमा सबैभन्दा धेरै गिरावट आयो। विकास बैंक समूह आज २०.६ अंकले ओरालो लाग्यो। त्यस्तै हाइड्रोपावर समूह १८.६१ र बैंकिङ १.२८ अंकले घटे। 

यो दिन बजारका ५ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लाग्यो । 

गोर्खाज फाइनान्स, हिमालयन डिस्टीलरी, विशाल बजार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, बोटलर्स नेपाल९तराई० लिमीटेडको मूल्य १० प्रतिशतको हाराहारीमा बढेर सर्किट लागेको हो । यो दिन हिमालयन डिस्टीलरीको मूल्य बजार खुलेको २ मिनेटमै सर्किट लागेको थियो । त्यसपछि केहीबेर थोरै कममा कारोबार भए पनि पुनः सर्किट लागेपछि कारोबार बन्द भएको थियो । 

यो दिन शिवम् सिमेन्टको सेयरमूल्य ९।२५ प्रतिशतले बढेको छ । 

गुमाउने कम्पनीहरुमा जलविद्युत कम्पनीहरु नै अगाडि देखिए । यो दिन धेरै गुमाउने १० कम्पनीको सूचीमा ७ स्थान जलविद्युत कम्पनीहरुले ओगटे । घलेम्दी हाइड्रोपावर, यूनाइटेड मोदी हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, सबैको लघुवित्त र नेपाल हाइड्रो डेभलपर्स लिमीटेडको सेयरमूल्य ६ प्रतिशत हाराहारीमा घट्यो । 
नेपाल टेलिकमले ३० करोड ८५ लाख बढीको कारोबार गरेको यो दिन  नेपाल लाइफ इन्स्योरेन्सले २५ करोड  ९४ लाख, शिवम सिमेन्टले २२ करोड ७९ लाख, एनआइसी एशियाले १८ करोड २२ लाख, प्रभू बैंकले १६ करोड ५९ लाख, शिखर इन्स्योरेन्सले १६ करोड २६ लाख, नेको इन्स्योरेन्सले ११ करोड ४२ लाख, नागरिक लगानीकोषले १० करोड २८ लाख बढीको कारोबार गरे । 

 


Share this with your friends: