काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दका लागि आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका बासिन्दाका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले पहिलो चरण अन्तर्गत कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि ४ करोड रुपैयाँबराबरको रु।१०० अंकित दरका ४ लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट गत असार १० गते अनुमति प्राप्त गरेको थियो । कम्पनीले स्थानिय र सर्वसाधारणका लागि दुई चरणमा गरी १२ करोड रुपैयाँबराबरको १२ लाख कित्ता आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको थियो ।
जसअन्तर्गत साउन ५ गतेदेखि कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि आईपीओ निष्कासन गर्न लागेको हो । यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६० हजार कित्ताका लागि दरखास्त आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले माछापुच्छ्रे बैंकको हिले शाखा, ग्लोबल आइएमई बैंकको जिरिखिम्ती शाखा तथा नेपाल बंगलादेश बैंकको तेह्रथुम जिल्लामा रहेका शाखा कार्यालयहरु र तेह्रथुम पावरको जलविद्युत आयोजना स्थलबाट आईपीओ खरिदका लागि आवेदन दिन सक्नेछन् ।
यो आईपीओ निष्कासन छिटोमा साउन १९ गते र ढिलोमा भदौ २ गते बैंकिङ समयपछि हुनेछ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि आईपीओ निष्कासन गरिसकेपछि कम्पनीले आम सर्वसाधारणका लागि बाँकी ८ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।