काठमाण्डौ । दुई साताको अवधिमा ५४ हजार बढीले टीएमएस लिएका छन्।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आज सार्वजनिक गरेको तथ्यांकका अनुसार अहिलेसम्म टीएमएस लिनेको संख्या ४ लाख ९९ हजार ६९३ पुगेको छ। यो संख्या दुई साता अघिको तुलनामा १२.२० प्रतिशतले धेरै हो। दुई साताअघिसम्म टीएमएस लिनेको संख्या ४ लाख ४५ हजार ३५३ रहेको थियो।
टीएमएस लिएका कुल संख्या मध्ये २ लाख ४३ हजार ३४८ जना भने सक्रिय रुपमा अनलाइन प्रणालीबाट कारोबार गरिरहेका छन्। सक्रिय रुपमा अनलाइन प्रणालीबाट कारोबार गर्ने भने ६ लाख २७ हजार ६६२ रहेको छ।
लगानीकर्ताले यो अवधिसम्म सबैभन्दा धेरै टीएमएस नासा सेक्युरिटिजबाट लिएका छन्। नासा सेक्युरिटिजबाट ४८ हजार ४१३ जनाले टीएमएस लिएका छन्। यी मध्ये २३ हजार ६४२ ले अनलाइन प्रणालीबाट सक्रिय कारोबार गरिरहेका छन्। यो सूचीमा सनि सेक्युरिटिज दोस्रो स्थानमा रहेको छ। सनि सेक्युरिटिजबाट ३० हजार ८५६ जनाले टीएमएस लिएका छन्। यीमध्ये १४ हजार ९०४ जनाले अनलाइन प्रणालीबाट सक्रिय कारोबार गरिरहेका छन्।