काठमाण्डौ । हालै देशभर आएको अविरल वर्षाले पुर्याएको क्षतीका कारण झण्डै २ अर्ब रुपैयाँबराबरको बीमा माग दाबी परेको छ । बीमा समितिका अनुसार अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी तथा पहिराबाट भएको भौतक क्षतीबापत बीमतिहरुबाट २० वटै निर्जीवन बीमा कम्पनीहरुसँग कुल १ अर्ब ९२ करोड तीन लाख ४८ हजार बीमा माग दाबी भएको छ ।
निर्जीवन बीमा कम्पनीहरुबाट संकलित तथ्यांकअनुसार अविरल वर्ष सुरुभएदेखि यहि असार २३ गतेसम्म सम्पत्ति बीमा, मोटर बीमा, कृषि तथा पशुपन्छी बीमा, इन्जिनियरीङ बीमा र विविध बीमा अन्तर्गत बीमितहरुबाट जम्मा ३३१ वटा बीमाको माग दाबी भएको छ ।
कुल बीमा दाबी मागमध्ये १४१ वटा सम्पत्ति बीमाबाट रु. ६९ करोड ३६लाख ४६ हजार, ३३ वटा मोटर बीमाबापत ४ करोड ७५ लाख, ८७ हजार, पाँचवटा सामुन्द्रिक बीमाबापत १९ लाख ८१ हजार, कृषि बीमाको १ करोड ६२ लाख ५१ हजार, ५ वटा पशुपन्छी बीमाको २ करोड ३८ लाख ५९ हजार र विविधतर्फ दुईवटा बीमाबापत १ करोड ५५ लाख ५१ हजार रुपैयाँबराबरको दाबी भुक्तानी माग परेको बीमा समितिले जनाएको छ ।
यसैगरी इन्जिनियरीङ बीमातफ हालैको बाढी पहिरोबाट क्षति भएका १०७ वटा निर्माणाधिन अयोजनाबाट ९० करोड ७ लाख ३४ हजार रुपैयाँ, ८ वटा निर्माण सम्पन्न आयोजनाबाट ११ करोड ७० लाख, १८ वटा हेभि इक्वीप्मेन्ट ८ करोड ८४ लाख ३६ हजार र अन्य बीमाबापत १ करोड ५३ लाख ३ हजार रुपैयाँबराबरको दाबी माग भएको छ ।