काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन् । आज निर्जीवन बीमा उपसूचक १०१.४४ अंकले बढ्दै १४५५८.७७ बिन्दुको उचाईमा पुग्यो । यो दिन जीवन बीमा उपसूचक पनि ५३.१५ अंकले बढ्दै १७७२०.८० को उचाईमा पुग्यो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । आज नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य ७.५७ प्रतिशतले बढ्दै प्रतिकित्ता ११५० रुपैयाँ कायम भयो । यस्तै लुम्बिनी जनरलको सेयरमूल्य ४.३५ र रिलायन्स लाइफको सेयरमूल्य ३.०६ प्रतिशतले बढ्यो ।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् ।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो । परिसूचक १३.९७ अंकले बढ्दै २९९४.५८ बिन्दुको उचाईमा पुग्यो । यो दिन बजारमा २१९ कम्पनीका ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता सेयर ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ रुपैयाँमा किनबेच भयो ।
१३ वटा समूहमध्ये आज ५ वटा समूहबाहेक अन्य सबै समूहमा हरियाली छायो । आज सबैभन्दा धेरै वृद्धि व्यापार समूहमा आयो । व्यापार समूह आज १९६.०२ अंकले बढ्यो । त्यस्तै बैंकिङ समूह १०.८४, उत्पादन तथा प्रशोधन ४१.२३, अन्य १६.८७, म्युचुअल फन्ड ०.१ र लगानी समूह १.५९ अंकले बढ्यो ।
वित्त समूहमा आज सबैभन्दा धेरै गिरावट आयो । यो समूह २९.७९ अंकले घट्यो । यसैगरी होटल एण्ड टुरिजम १६.०४, विकास बैंक १८.३, हाइड्रो १.५४ र लघुवित्त ४.४२ अंकले घट्यो ।
आज सिनर्जी पावर कम्पनीको सेयरमूल्यमा सर्वाधिक उछाल आयो । यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो । आज विशाल बजार कम्पनीको सेयरमूल्य ९.२० र सीआईटीको मूल्य ६.४० प्रतिशतले बढ्यो ।
आज गोर्खाज फाइनान्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो । कम्पनीको सेयरमूल्य ३.६० प्रतिशतले घट्यो ।
यो दिन एनआईसी एशिया बैंकको सर्वाधिक सेयर कारोबार भयो । बैंकको ३५ करोड ४१ लाख बढीको सेयर कारोबार भयो भने नबिल बैंकको ३३ करोड १८ लाख र नेपाल बंगलादेश बैंकको ३१ करोड २९ लाख बढीको सेयर कारोबार भयो ।