धितोपत्र बोर्डको नियत 'शंकास्पद' देखिएपछि अर्थमन्त्रीको हस्तक्षेप, ब्रोकर कमिसन तत्काल घटाउन निर्देशन

2020-12-18
धितोपत्र बोर्डको नियत 'शंकास्पद' देखिएपछि अर्थमन्त्रीको हस्तक्षेप, ब्रोकर कमिसन तत्काल घटाउन निर्देशन

काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विभिन्न पक्षहरुलाई मध्यनजर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् । 

धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने भन्दै आफूहरुलाई पटक पटक झूठो आश्वासन दिएको र बोर्ड नै ब्रोकरहरुसँग मिलेर कमिसन नघटाउने योजनामा रहेको  उजुरी लगानीकर्ताहरुले अर्थमन्त्रालयमा गरेका थिए । 

बोर्डको ढिलासुस्तीको विषयमा भित्री रुपमा बुझेको अर्थले नियत खराब देखिएको भन्दै शुक्रबार बोर्ड लगायतका निकायलाई बोलाएर कडा निर्देशन दिएको हो । 

बजारको नियामक धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउन ढिलासुस्ती गरेपछि अर्थमन्त्री आफैंले तत्काल घटाउन निर्देशन दिएका हुन् । 

अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन तयारी गर्न र तत्काल कार्यान्वयनमा लैजान निर्देशन दिएका उनका प्रेस सल्लाहकार भूवन केसीले जानकारी दिएका छन् ।

'ब्रोकर कमिसन घटाउनका लागि बिलम्ब नगर्नुहोस, प्रो एक्टिभ भएर लाग्नुहोस् ।'-बैठकमा अर्थमन्त्रीले भनेका थिए । 

अर्थमन्त्री पौडेलले पूँजीबजार बढ्न र बिस्तार हुन गइरहेको बताउँदै अहिलेका समस्याहरु समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्न समेत निर्देशन दिए । 

साथै पूँजीबजारको विकासका लागि चालु वर्षको बजेटमा उल्लेखित कार्यहरु समयमा नै सम्पन्न गर्न पनि निर्देशन दिए ।

उनले ऐन, नियममा सुधार गर्नु पर्ने भए त्यसको तयारी गर्न पनि निर्देशन दिए ।

बैठकमा अर्थमन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङ्गाना, रामशरण पूडासैनी, आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव झक्कप्रसाद आचार्य, धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य लगायतको उपस्थिति थियो । 


Share this with your friends: