काठमाण्डौ । नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले कोरोनाको हालको अवस्थालाई मध्यनजर गर्दै चालु आर्थिक वर्षको असार मसान्तसम्मका लागिमात्र निःशुल्क अनलाइन डिम्याट तथा मेरो सेयर खाता खोल्ने सुविधा सञ्चालनमा ल्याएको छ।
प्राथमिक सेयरको आवेदन भर्नका लागि डिम्याट खाता अनिवार्य रुपमा आवश्यकता पर्ने भएकोले प्राथमिक निष्कासनमा लगानी गर्न चाहने लगानीकर्ताका लागि यो सेवा निकै नै फलदायी हुने नबिल इन्भेस्टमेन्टले विश्वसा लिएको छ । खाता खोल्न चाहनेहरुले नबिल इन्भेस्टमेन्टको वेबसाइट www.nabilinvest.com.np मा गई अनलाइन डिम्याटभित्र onlinedemat.nabilinvest.com.np मा क्लिक गरी खाता खोल्न सकिने व्यवस्था मिलाइएको छ।
ग्राहकको सम्पूर्ण जानकारी रेफरेन्स नम्बरबाट खोज्न सकिने भएकोले यसरी खाता खोलेपछि प्राप्त हुने रेफरेन्स नम्बर खातावालाले सुरक्षित राख्नुपर्ने नबिल इन्भेस्टमेन्टले जनाएको छ। यसरी आफूले अनलाइनबाट डिम्याट खाताका लागि अनुरोध गरेको केही समयभित्र ग्राहकलाई खाता नम्बर उपलब्ध गराइने कम्पनीले जनाएको छ। यसरी प्राप्त हुने निःशुल्क डिम्याट सेवा केवल अनलाइनबाट खाता खोल्नेहरुका लागिमात्र लागू हुनेछ।