नवनियुक्त डेपुटी गभर्नरहरुद्वारा शपथ ग्रहण तथा पदबहाली

2021-03-11
नवनियुक्त डेपुटी गभर्नरहरुद्वारा शपथ ग्रहण तथा पदबहाली

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नरहरु डा.नीलम ढुंगाना तिमिस्ना र बम बहादुर मिश्रले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्। 

गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक, बालुवाटारमा आयोजित एक समारोहमा दुवै डेपुटी गभर्नरलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन्। नेपाल सरकार, मन्त्रीपरिषद्को गत फागुन २५ गतेको निर्णय अनुसार दुवै जना डेपुटी गभर्नरमा नियुक्त भएका हुन्। 

शपथग्रहण समारोहमा सङ्क्षिप्त मन्तव्य राख्ने क्रममा नवनियुक्त डेपुटी गभर्नरहरूलाई बधाई ज्ञापन गर्दै गभर्नर अधिकारीले दुवै सक्षम कार्यकारी निर्देशकहरू डेपुटी गभर्नरमा नियुक्त भएकोमा प्रशन्नता व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिए । डेपुटी गभर्नर पद बढी जिम्मेवार रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले तरल राजनैतिक अवस्थामा पनि समयमै नियुक्ती भएकोमा खुसी गरे। 

दुई जना कार्यकारी निर्देशकहरू डेपुटी गभर्नर नियुक्त हुने कानुनी व्यवस्था अनुसार नियुक्त भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सामूहिक सहयोगात्मक कार्यप्रणाली कायम रहने विश्वास व्यक्त गरे । आफू कार्यमुखी, नतिजामुखी तथा संस्थाको गरिमाप्रति समर्पित रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले सबैको सल्लाह र सुझाव अनुसार अघि बढ्ने बताए। 
कार्यक्रममा नवनियुक्त डेपुटी गभर्नर द्वय डा.नीलम ढुङ्गाना तिम्सिना र बम बहादुर मिश्रले संस्थाको गरिमामय जिम्मेवारी प्रदान गरेकोमा संस्था प्रमुख तथा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै आफूमा खुसी तथा जिम्मेवारीबोध एकैपटक आएको बताए ।

दवैले संस्थाले परिलक्षित गरेको उद्देश्य हासिल गर्नमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै पहिले जस्तै आगामी दिनमा पनि सबै पक्षबाट सहयोग कायम रहने विश्वास व्यक्त गरे । कार्यक्रममा बरिष्ठ कार्यकारी निर्देशक भुवन कँडेलले स्वागत मन्तव्य राख्दै यथासमयमै डेपुटी गभर्नरहरू नियुक्त भएकोमा प्रसन्नता व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिए । कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिना, नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र बैंकका कार्यवाहक अध्यक्ष राजनप्रसाद रेग्मी र नेपाल राष्ट्रिय कर्मचारी संघ, नेपाल राष्ट्र बैंकका अध्यक्ष रेशम बल्छौडीले नव नियुक्त डेपुटी गभर्नरहरूलाई बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।


Share this with your friends: