निफ्राको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

2021-12-15
निफ्राको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)को वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज(मंसिर २९ गते)बैंकको तेस्रो वार्षिक साधारणसभा बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्डा ब्यांक्वटमा सम्पन्न भएको हो । 

उक्त सभाले बैंकको सञ्चालक समितिद्वारा गत आर्थिक वर्षको सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट प्रस्तावित ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । सभाले गत आर्थिक वर्षकोे सञ्चालक समितिको प्रतिवेदन र उक्त अवधिको वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गरेको छ। 

त्यस्तै सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने कार्यक्रम रहेको उक्त सभाबाट सुमन पोखरेल र लिमा अधिकारी आचार्य संचालक समितिमा निर्विरोध निर्वाचित भएका छन्। 

नेपालकै पहिलो र एकमात्र पूर्वाधार विकास बैंकका रुपमा स्थापित निफ्राको वार्षिक साधारणसभा काठमाण्डौको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एनड ब्यांक्वेटमा भएको थियो। सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले गरेका थिए। 

उक्त बैंक सञ्चालक समितिका सदस्यहरु केदारनाथ शर्मा, चन्द्रप्रसाद ढकाल, लालमणि जोशी र शंकरप्रसाद अधिकारीको उपस्थिति थियो । त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलगायत बैंकका उच्च तहका अधिकृतहरुको समेत उपस्थिति थियो । 

कोभिड–१९ को कारण उत्पन्न स्वास्थ्य जोखिमबाट जोगिन र जोगाउन सेयरधनीहरु अनलाइन माध्ययबाट समेत सहभागी हुन सक्नेगरी सभाको कार्यक्रम तय गरिएको थियो।


Share this with your friends: