काठमाडौं । नियामक निकाय बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर खण्डीकरण(स्टक स्प्लिट) गर्ने प्रस्तावलाई अस्वीकृत गरेको छ । कम्पनीको गत माघ २८ गते सम्पन्न २० औँ वार्षिक साधारण सभाले सेयर टुक्राउने प्रस्ताव पारित गरेको थियो।
कम्पनीको गत माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले प्रति सेयर मूल्य रु १ सय रहेकोमा यस सम्बन्धी व्यवस्थालाई परिवर्तन गरी प्रति सेयर मूल्य रु.५० कायम गर्ने विशेष प्रस्ताव गरेको थियो।बीमा समितिले कम्पनीको सेयर खण्डीकरण गर्ने प्रस्तावलाई अस्विकार गरेपछि अब कम्पनीको साधारणसभाबाट पारित यो प्रस्ताव फिर्ता गर्नु पर्ने हुन्छ ।
कम्पनीको सेयर खण्डीकरण गर्ने प्रस्तावका कारण बोनस सेयर सूचीकरणमा प्रभावित बनेको थियो । यसका लागि कम्पनीको विध्यमान प्रबन्धपत्र तथा नियमावली संसोधन गर्नु पर्ने भएकाले कम्पनीले उक्त संसोधित प्रबन्धपत्र तथा नियमावली संसोधनका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गर्ने प्रक्रिया अगाडि बढाइएको थिएन ।
अब भने कम्पनीले सेयर खण्डीकरण गर्ने प्रस्ताव फिर्ता लिएर बोनस सेयर सूचीकरणको प्रक्रिया अगाडी बढाउनेछ ।
कम्पनीले २० औँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७५/७६ काम लागि प्रस्तावित ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांस गरी कुल ५१ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरेको थियो ।