काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले २८ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी पुस २० गते मंगलबारका दिन काठमाण्डौ भद्रकालीमा रहेको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा बैंकको सञ्चालक समितिद्वारा प्रस्तावित ३.५० प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद लाभांस गरी कुल ५.३१ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा भएको १ करोड २१ लाख १३ हजार ९२२ रुपैयाँ खर्चलाई अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ । सभामा बैंकले अन्य कुनै बैंक वा वित्तीय संस्थाहरुलाई एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकलाई प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
सभामा आर्थिक वर्ष २०७७/७८ का लागि सञ्चालक समितिबाट प्रस्तुत गरिने आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि बैंकले आगामी पुस ७ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै बैंकद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा सभामा सहभागी हुन योग्य हुनेछन् ।