काठमाण्डौ । नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा)को अध्यक्षमा मोहन पुरुष ढकाल निर्वाचित भएका छन् । एसोसिएसनको १३ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनले २ वर्षका लागि ढकालको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा देउकाजी गुरुङ, महासचिवमा पवित्र विक्रम राणा, सचिवमा बुद्धकाजी श्रेष्ठ, कोषाध्यक्षमा दिलमान चन्द चयन भएका छन् । सहस्यहरुमा शिशिर गैरे, प्रवेश पौडेल, अमर चन्द्र निराला र दिपक रानाभाट चुनिएका छन् ।
एसोसिएसनको संस्थापक महासचिव हुँदै ढकालले धेरै पटकको कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन् । नवनिर्वाचित अध्यक्ष ढकालले आफ्नो नेतृत्वमा सर्भेयरहरुको साझा संस्था निसालाई नयाँ आयामबाट माथि उठाउन प्रतिवद्ध भएर लाग्ने बताउँदै समग्र बीमा व्यवसायका सरोकारवाला सबै निकायबाट सहकार्य र सहयोगको अपेक्षा गरे।
बीमाको कार्यप्रक्रिया बीमितको दाबीबाट शुरु हुने तथा बीमाको कार्यप्रक्रियाका लागि कागजात र सवुद प्रमाण आवश्यक हुन्छ भन्ने जानकारीको अभाव बीमितमा अहिले पनि रहेको भन्दै उनले भने, ‘सर्भेयरले कागजात र सवुद प्रमाण माग गर्नुलाई क्षतिपूर्ति नदिनलाई गरेको प्रपञचको रुपमा प्रायः बीमितहरुले लिने गर्छन । छिटो छरितो दाबी फरफारक गरी जनमानसमा बीमा क्षेत्रप्रति आस्था जगाउनका लागि बीमितमा बीमा सचेतना बढाउनैपर्छ ।’
अधिवेशनको उद्घाटन समारोहमा एसोसिएसनका सल्लाहकार शिवाश्चन साःख, निवर्तमान अध्यक्ष सूर्यप्रसाद जोशीलगायतले सर्भेयरले फिल्डमा आवश्यक जाँचबुझ गरी क्षति मूल्याङ्कन गर्दा बहुआयामिक समस्याहरु सामना गर्नुपरिरहेको चर्चा गर्दै बीमा कम्पनीले बीमालेख जारी गरेका बखतमा त्यसमा रहेका प्रावधान र बन्देजहरुबार बीमितलाई समयमै अवगत नगराइदिंदा त्यसबाट उत्पन्न समस्या, कार्यक्षेत्रमा खटिएका सर्भेयरले व्यहोर्नुपरेको बताए ।