काठमाण्डौ । स्मार्ट च्वाइस टेक्नोलोजिको स्वामित्वमा रहेको नेपाल क्लियरिङ हाउस लिमिटेडको लिलामी सेयरमा आवेदन दिन आज अन्तिम अवसर रहेको छ। कम्पनीले गत असोज २० गतेदेखि आफ्नो स्वामित्वमा रहेको नेपाल क्लियरिङ हाउसको संस्थापक सेयर लिलमीमा राखेको थियो। कम्पनीले क्लियरिङ हाउसको २ लाख ९८ हजार ८० कित्ता सेयरको लिलामी खुलाएको थियो।
उक्त शेयरमा साविकका संस्थापक शेयरधनी वा नेपाल राष्ट्र बैंक बाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था वा सरकारी स्वामित्व रहेका विशेष ऐनद्वारा स्थापित संस्थाले आवेदन दिन सक्नेछन् ।
संस्थापक सेयर खरिद गर्न चाहने इच्छुकले न्युनतम ३ सय ५० रुपैयाँ प्रति सेयर वा सो भन्दा बढी मूल्य अंकित बोलपत्र पेश गर्नु पर्नेछ। यसका साथै न्युनतम ५० हजार कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल रहेको छ।
लगानीकर्ताहरुले सेयर खरिदका लागि मुक्तिनाथ क्यापिटल लिमिटेड, हात्तिसारमार्ग, कमलादी, काठमाडौंमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।