काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेडको आईपीओ निष्कासन आज९माघ २ गते०देखि खुला भएको छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्कासनको बिक्री खुलाएको हो ।
बैंकले अहिले सम्मकै सबैभन्दा ठूलो आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड(सेबोनबाट) गत पुस १० गते आईपीओ निष्कासनको अनुमति पाएको थियो ।
बैंकको अहिलेको चुक्तापूँजी १२ अर्ब रुपैयाँ रहेकोमा आईपीओ निष्कासन पश्चात यो २० अर्ब रुपैयाँ पुग्नेछ। नेपाल धितोपत्र बोर्डले सर्वसाधारण निष्कासनका अनुमति दिएको यो अहिले सम्मकै सबैभन्दा ठूलो आईपीओ हो।
कुल ८ करोड कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको छ। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको छ। लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सक्नेछन् ।
यो आईपीओमा छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन मिल्नेछ।
बैंकको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।