काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आउँदो माघ २७ गतेदेखि नागरिक बचतपत्र २०८२“क” निष्कासन गर्ने भएको छ। बैंकले नेपाल सरकारको तर्फबाट दुई अर्ब रुपैयाँ बराबरको सरकारी बचतपत्र निष्कासन गर्न लागेको हो। यो बचतपत्र अबको ५ वर्ष अर्थात वि.स २०८२ सालमा परिपक्व हुनेछ।
यो बचतपत्रको वार्षिक ब्याजदर ९ प्रतिशत हुनेछ र यसको ब्याजको भुक्तानी ६÷६ महिनामा हुनेछ। इच्छुक लगानीकर्ताले घटीमा दश हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सिमामा नबढाई रु दश हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा लगानी गर्न सक्नेछन्। यो बचतपत्रमा नेपाली नागरिकले मात्रै लगानी गर्न सक्नेछन्।
लगानीकर्ताले यो बचतपत्र धितो राखी नेपाल राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सक्नेछन्। लगानीतर्कले आवेदन दिँदा स्टक वा प्रमिशरी नोटमध्ये आफुले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारममा खुलाउनु पर्नेछ। नखुलाइएको अवस्थामा प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराइनेछ।