काठमाण्डौ । साताको चौथो कारोबार दिन आज बीमा समूहहरुको परिसूचकमा गिरावट आएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा गिरावट आयो। आज निर्जीवन बीमा समूह ८९.८४ अंकले ओरालो लाग्दै ८२०५.५२ को बिन्दुमा सीमित बन्यो। १२ वटा समूहमध्ये आज निर्जीवन बीमा समूहमा सबैभन्दा धेरै गिरावट आयो। अघिल्लो कारोबार दिन यो समूहमा १७६.८६ अंकको बढोत्तरी आएको थियो।
निर्जीवन बीमा समूह जस्तै आज जीवन बीमा समूहमा पनि गिरावट आयो। आज जीवन बीमा समूह १२.६७ अंकले घट्दै ९७०३.७८ को बिन्दुमा सीमित बन्यो। अघिल्लो कारोबार दिन यो समूह १४ अंकले बढेको थियो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा सानिमा जनरल इन्स्योरेन्स कम्पनी रह्यो। धितोपत्र दोस्रो बजारमा आजबाट मात्रै कारोबारमा आएको यो कम्पनीको सेयरमूल्यमा पहिलो दिन नै पोजेटिभ सक्रिट लाग्यो। आज यो कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढ्दै प्रतिकित्ता ३४२ रुपैयाँ कायम भयो।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा २.३९ अंकको करेक्सन आएको छ। अघिल्लो कारोबार दिन वृद्धि भएको नेप्से परिसूचकमा आज भने २.३९ अंकले घट्दै १६४०.६४ को बन्दिुमा सीमित बन्यो। यो दिन बजारमा २०१ कम्पनीका ५६ लाख ३१ हजार ४९४ कित्ता सेयर १ अर्ब ७५ करोड ७४ लाख २३ हजार ७४५ रुपैयाँमा किनबेच भयो।
आज ५ वटा समूह बाहेक अन्य सबै समूहमा गिरावट आयो। आज सबैभन्दा धेरै वृद्धि व्यापार समूहमा आयो। व्यापार समूह २५.३१ अंकले बढेको यो दिन, होटल ४.६७, हाइड्रोपावर १.७६, अन्य ५.३९ र म्युचुअल फन्ड ०.०१ अंकले बढे।
आज बैंकिङ समूह ३.०४ अंकले ओरालो लाग्यो भने विकास बैंक र वित्त पनि क्रमश ११.४२ र २.८८ अंकले ओरालो लागे। यस्तै उत्पादन तथा प्रशोधन ०.११ र लघुवित्त ३.६६ अंकले घटे।
आज दुईवटा कमपनीका सेयरधनीहरु मालामाल भए। यो दिन विशाल बजार कम्पनीको सेयरमूल्यमा १० प्रतिशत र आजैबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको सानिमा जनरल इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो।
यो दिन शिवश्री हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ५ प्रतिशत बढीको गिरावट आयो।
आज नेप्सेमा सूचीकृतमध्ये २०१ कम्पनीका ५६ लाख ३१ हजार ४९४ कित्ता सेयर १ अर्ब ७५ करोड ७४ लाख २३ हजार ७४५ रुपैयाँमा कारोबार भए।
यो दिन प्राइम कमर्सियल बैंकको सर्वाधिक ९ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भयो। अरुण काबेली पावरको ८ करोड २४ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनटीसीको ७ करोड ५७ लाख रुपैयाँ, अपी पावरको ५ करोड ११ लाख रुपैयाँ, गुराँस लाइफ इन्स्योरेन्सको ४ करोड ९० लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको ४ करोड ३३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड ८३ लाख रुपैयाँ, शिवश्री हाइड्रोपावरको ३ करोड ५२ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ३४ लाख रुपैयाँ र सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयरको ३ करोड ३४ लाख रुपैयाँबराबरको कारोबार भयो।