काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा हरियाली छाएको छ। आज निर्जीवन बीमा उपसूचक ११४.९ अंकले बढ्दै १३१८२.८६ को बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ११४.०६ अंकले उकालो लाग्दै १७१८९.६९ बिन्दुको उचाईमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल रहे। ज्योति लाइफको सेयरमूल्यमा आज पनि पोजेटिभ सक्रिट लाग्यो। कम्पनीको सेयरमूल्य ९.९३ प्रतिशतले बढ्दै प्रतिकित्ता ९०८ रुपैयाँ कायम भयो। यस्तै आज आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य पनि ५.५८ प्रतिशतले बढ्दै प्रतिकित्ता ११९३ रुपैयाँ कायम भयो।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा भने कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचक दोहोरो अंकले बढ्यो। परिसूचक १५.८० अंकले बढ्दै २६४८.०० बिन्दुको उचाईमा पुग्यो। यो दिन बजारमा २१४ कम्पनीका १ करोड ३० लाख ३२ हजार ८२३ कित्ता सेयर ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८८८ रुपैयाँमा किनबेच भयो।
आज बजारमा २ वटा समूह बाहेक अन्य सबै समूहमा हरियाली छायो। बैंकिङ समूह ९.२२ अंकले बढेको आज व्यापार समूह ११.१२, विकास बैंक ३८.१७, हाइड्रोपावर ४.९८, वित्त १.४१, उत्पादन तथा प्रशोधन ४७.२८, अन्य २१.३१, लघुवित्त ५३.१९ र लगानी समूह ०.१७ अंकले बढ्यो।
होटल एण्ड टुरिजम र म्युचुअल फन्ड समूह क्रमशः ५२.९२ र ०.०६ अंकले घटे।
आज विशाल बजार कम्पनीको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। लामो समयपछि सेयर कारोबार खुलेको कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्दै प्रतिकित्ता ३१६८ रुपैयाँ कायम भयो। यस्तै सिन्धु विकास बैंकको सेयरमूल्य पनि १० प्रतिशत, महिला लघुवित्त ९.९७, ग्रिन डेभलपमेन्ट बैंक ९.९५ र ज्योति लाइफको सेयरमूल्य ९.९३ प्रतिशतले बढ्यो।
आज हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ३.४४ प्रतिशतले घट्यो भने पञ्चकन्या माइहाइड्रो २.५६ र मञ्जुश्री फाइनान्सको सेयरमूल्य २.४५ प्रतिशतले घट्यो।
यो दिन नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सर्वाधिक सेयर कारोबार भयो। आज बैंकको ६२ करोड २७ लाख बढीको सेयर कारोबार भयो। यसैगरी निफ्राको २५ करोड ८७ लाख, एनआईसी एशिया लघुवित्तको २१ करोड ३५ लाख र एचआईडीसीएलको १९ करोड ५३ लाख बढीको सेयर कारोबार भयो।