काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक दुवै बीमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ६४.२३ अंकले घट्दै १७४०५.२० को बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३६.६१ अंकले ओरालो लाग्दै १३२५४.०२ को बिन्दुमा सीमित बन्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा ५ वटा बीमा कम्पनी परे। बीमातर्फ आज एनएलजी इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य १.७३ प्रतिशतले घट्यो भने हिमालयन जनरलको १.६३, प्रुडेन्सियल इन्स्योरेन्स १.५१, नेपाल पुनर्बीमा कम्पनी १.३४ र सानिमा जनरलको सेयरमूल्य १.२५ प्रतिशतले घट्यो।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा झिनो बढोत्तरी आयो। परिसूचक १.९४ अंकले बढ्दै २६५४.६९ बिन्दुको उचाईमा पुुग्यो। यो दिन बजारमा २१३ कम्पनीका १ करोड ३० लाख १५ हजार १८३ कित्ता सेयर ६ अर्ब ५ करोड २२ लाख ३६ हजार ८११ रुपैयाँमा किनबेच भयो।
१३ वटा समूहमध्ये आज बजारमा ६ वटा समूहमा हरियाली छायो। आज सबैभन्दा धेरै वृद्धि लघुवित्त समूहमा आयो। लघुवित्त समूह १३७.८२ अंकले बढ्यो। यस्तै व्यापार समूह ९२.९३, हाइड्रोपावर ३०.९२, उत्पादन तथा प्रशोधन ६.२७, म्युचुअल फन्ड ०.०२ र लगानी समूह ०.२३ अंकले बढ्यो।
बैंकिङ समूह ७.६४ अंकले बढेको आज होटल एण्ड टुरिजम ३५.७७, विकास बैंक ११.२४, वित्त ३.०८ र अन्य समूह २०.११ अंकले घट्यो।
आज समता घरेलु र महिला लघुवित्तको सेयरमूल्यमा सर्वाधिक अर्थात १० प्रतिशतको उछाल आयो। यसैगरी विशाल बजार कम्पनीको सेयरमूल्य ९.९९, सर्पोट माइक्रोफाइनान्स ९.९८, राधि विद्युत कम्पनी ९.९० र रुरु जलविद्युत कम्पनीको सेयरमूल्य ९.९० प्रतिशतले बढ्यो।
आज चन्द्रागिरी हिल्सको सेयरमूल्यमा सर्वाधिक गिरावट। कम्पनीको सेयररमूल्य १.९८ प्रतिशतले घट्यो।
यो दिन एनसीसी बैंकको सर्वाधिक सेयर कारोबार भयो। आज बैंकको २३ करोड ९ लाख बढीको सेयर कारोबार भयो भने अरुण काबेली हाइड्रोपावर २१ करोड ८३ लाख, ग्रामिण विकास लघुवित्त १६ करोड ८९ लाख र निफ्राको १६ करोड ४८ लाख बढीको सेयर कारोबार भयो।