काठमाण्डौ । बीमा समूहहरुले साताको सुरुवात गिरावटका साथ गरेका छन्। साताको पहिलो दिन आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा गिरावट आयो। आज १२ वटा समूहमध्ये सबैभन्दा धेरै गिरावट जीवन बीमा समूहमा आयो। आज जीवन बीमा समूह २७८.८१ अंकले ओरालो लाग्दै १०४८४.०५ मा सीमित बन्यो। अघिल्लो कारोबार दिन यो समूहमा ३७६.१५ को बढोत्तरी आएको थियो।
आज निर्जीवन बीमा समूहमा पनि गिरावट आयो। यो दिन निर्जीवन बीमा समूह २४३.१४ अंकले घट्दै ९३६७.४९ मा सीमित बन्यो। अघिल्लो कारोबार दिन यो समूह ३९९.१६ अंकका साथ उकालो लागेको थियो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा २ वटा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल रहे। आज अजोड इन्स्योरेन्सको सेयरमूल्य ४.८० अंकले बढ्दै प्रतिकित्ता ५९० रुपैयाँ कायम भयो। त्यस्तै नेको इन्स्योरेन्सको सेयरमूल्य पनि ४.४२ अंकले बढ्दै प्रतिकित्ता १०१६ रुपैयाँ कायम भयो।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा युनाइटेड इन्स्योरेन्स कम्पनी रह्यो। आज यो कम्पनीको सेयरमूल्य ४.२९ प्रतिशतले घट्दै प्रतिकित्ता ४६९ रुपैयाँ कायम भयो।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचक ४.६९ अंकले बढ्दै १७८२.८१ को उचाईमा पुग्यो। यो दिन बजारमा २०१ कम्पनीका १ करोड ६० लाख ३४ हजार ७१७ कित्ता सेयर ६ अर्ब ९० करोड ६७ लाख २८ हजार ३१५ रुपैयाँमा किनबेच भयो।
आज तीववटा समूहमा मात्रै हरियाली छायो र अन्य सबै समूहमा रातो पोतियो। आज सबैभन्दा धेरै वृद्धि बैंकिङ समूहमा भयो। बैंकिङ समूह २९.४४ अंकले बढेको यो दिन विकास बैंक १३.४६ र अन्य समूह १.३५ अंकले बढे।
आज व्यापार समूह १२४.७७, होटल ८४.४९, हाइड्रोपावर २१.४३, वित्त ४.१७, उत्पादन तथा प्रशोधन ८९.२९, लघुवित्त ४.८८ र म्युचुअल फन्ड ०.२७ अंकले घटे।
आज सिटिजन्स म्युचुअल फन्ड २ को इकाइमूल्यमा १० प्रतिशतको बढोत्तरी भएर पोजेटिभ सर्किट लागेको छ। यो दिन जानकी फाइनान्सको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लाग्यो।
यो दिन माउन्टेन हाइड्रोका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ९ प्रतिशतको हाराहारीमा गिरावट आयो।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ५७ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको २९ करोड ५६ लाख रुपैयाँको कारोबार भएको आज नेपाल टेलिकमको २७ करोड ५५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २६ करोड ५३ लाख रुपैयाँ, नेपाल बैंकको २२ करोड ९८ लाख रुपैयाँ, प्रभु बैंकको २२ करोड ३७ लाख रुपैयाँ, नबिल बैंकको २१ करोड ५७ लाख रुपैयाँ, नेको इन्सुरेन्सको २१ करोड ३८ लाख रुपैयाँ, शिवम सिमेन्ट्सको २० करोड ७३ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको १७ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भयो।