परिसंघ, इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकद्वारा शिक्षण अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

2021-07-19
परिसंघ, इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकद्वारा शिक्षण अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

काठमाण्डौ । नेपाल उद्योग परिसंघको अगुवाई एवं नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकको सहकार्यमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ। 

नेपाल उद्योग परिसंघको कार्यालय थापाथलीमा आयोजित कार्यक्रममा प्लान्ट हस्तान्तरण एवं सो सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

परिसंघका अध्यक्ष सतिशकुमार मोर र शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा दिनेश काफ्लेले उक्त समझदारीपत्रमा हस्ताक्षर गरे। ५० क्युबिक लिटर प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ।

कार्यक्रममा परिसंघका अध्यक्ष मोरले देश संकटमा परेका बेला निजी क्षेत्र अग्रस्थानमा उभिएर आफ्नो कर्तव्य पूरा गरेको बताए। उनले कोभिड१९ को पहिलो र दोस्रो लहरले सिर्जना गरेको संकटमा पनि निजी क्षेत्रले आपूर्ति श्रृङ्खला सहज बनाउन सहयोग गरेको उल्लेख गरे।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्रा डा दिव्या सिंह शाहले कोभिड(१९ को संकटपूर्ण अवस्थामा शिक्षण अस्पतालले हरतरहले सेवा प्रदान गरेको बताइन। उनले कोभिडकै बीचमा अस्पतालमा आइसियु र एचडियु बेड थपिएको र थप १५ सय शैय्या निर्माणको चरणमा रहेको उल्लेख गरिन्। डिन शाहले परिसंघ एवं नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकलाई धन्यवाद ज्ञापन गरिन् । 

यसैगरी परिसंघका निवर्तनमा अध्यक्ष हरिभक्त शर्माले संकटको बीचमा निजी क्षेत्रले ठूलो सहयोग गरेको उल्लेख गरे। 

परिसंघका बरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले प्रतिकूल अवस्थाका बीचमा पनि निजी क्षेत्र सक्रियतापूर्वक आफ्नो उत्तरदायित्व बहन गर्न लागिपरेको बताए। 

प्रभु बैंकका अध्यक्ष जीवनप्रकाश सिटौलाले जनताको जीवन रक्षाका लागि योगदान गर्न पाउनु खुशीको विषय भएको उल्लेख गरे। उनले महामारी अझै नसकिएको भन्दै सबैले सचेत भएर काम गर्नुपर्ने बताए। 

नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले अक्सिजन प्लान्टको नियमित सञ्चालन र आवश्यकता अनुसार मर्मत सम्भार गरी आम जनतालाई नियमित सेवा प्रवाहमा ध्यान दिन आग्रह गरे। 

यसैगरी, शिक्षण अस्पतालका कार्यकारी निर्देशकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेकोमा परिसंघ, नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकलाई धन्यवाद दिए।


Share this with your friends: