काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा समूहमा गिरावट आएको छ। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै गिरावट जीवन बीमा समूहमा आयो। आज जीवन बीमा समूह ४३१.७८ अंकले ओरालो लाग्दै १३७०४.१८ को बिन्दुमा सीमित बन्यो।
आज निर्जीवन बीमा समूह पनि १४२.४९ अंकले ओरालो लाग्दै ९५४०.९४ मा सीमित बन्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।
त्यस्तै सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रह्यो। आज यो कम्पनीको सेयरमूल्य ४.२२ प्रतिशतले घट्दै प्रतिकित्ता २३४० रुपैयाँ कायम भयो। त्यस्तै आज गुमाउने अन्य बीमा कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल रह्यो। यो कम्पनीको सेयरमूल्य ३.६८ प्रतिशतले घट्यो।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचक २९.८३ अंकले ओरालो लाग्दै २०३८.६३ को बिन्दुमा सीमित बन्यो। यो दिन बजारमा २०४ कम्पनीका ९८ लाख ६० हजार ५३६ कित्ता सेयर ५ अर्ब ३६ करोड ९० लाख ४६ हजार ३२२ रुपैयाँमा किनबेच भयो। अघिल्लो दिनका तुलनामा आज कारोबार संख्या र कारोबार रकम दुवैमा गिरावट आएको छ। अघिल्लो दिन बजारमा २०३ कम्पनीका १ करोड १५ लाख ५८ हजार ९९१ कित्ता सेयर ६ अर्ब ८६ करोड २४ लाख ४५ हजार २१५ रुपैयाँमा किनबेच भएको थियो।
आज बजारमा दुईवटा समूहमा मात्रै हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो। आज होटल समूहमा सर्वाधिक वृद्धि भयो। होटल समूह ९३.४ र व्यापार १६.९७ अंकले बढे।
आज बैंकिङ समूह १७.७६ अंकले घट्यो भने विकास बैंक १७.३५, हाइड्रोपावर १७.१८, वित्त ८.६२, उत्पादन तथा प्रशोधन ४३.०५, अन्य ३६.०८, लघुवित्त ३७.९५ र म्युचुअल फन्ड ०.०२ अंकले घटे।
आज सोल्टी होटलको सेयरमूल्यमा ५.६७ प्रतिशतको सर्वाधिक बढोत्तरी आयो। त्यस्तै ओरियन्टल होटलको सेयरमूल्य ५.१६, माउन्टेन इनर्जी नेपालको ४.८३ प्रतिशत, पाचथर पावर कम्पनी ४.५२ र सिद्धार्थ बैंकको सेयरमूल्य ३.४९ प्रतिशतले बढे।
आज समृद्धि फाइनान्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ। यो कम्पनीको सेयरमूल्य ८.११ प्रतिशतले घट्यो भने युनाइटेड इदी मर्दीको ६.३०, पञ्चकन्या माईहाइड्रो ५.५६, महिला सहयात्रा लघुवित्त ५.५१ र छ्याङदी हाइड्रोपावरको सेयरमूल्य ५.१७ प्रतिशतले घट्यो।
आज नविल बैंकको सर्वाधिक कारोबार भएको छ। आज बैंकको ६१ करोड ४९ लाख बढीको कारोबार भयो। त्यस्तै नेपाल लाइफको ५९ करोड ८१ लाख र एनआईसी एशिया बैंकको ३२ करोड २५ लाख बढीको कारोबार भयो।