काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज बीमा समूहहरुमा उछाल आएको छ। आज जीवन बीमा समूहका सेयरधनी मालामाल भएका छन्। आज जीवन बीमा समूह ४७६.३६ अंकले बढ्दै १०२५१.२२ को उचाईमा पुग्यो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि जीवन बीमा समूहमा भयो।
जीवन बीमा समूह जस्तै आज निर्जीवन बीमा समूहमा समेत उछाल आयो। आज निर्जीवन बीमा समूह १६०.४ अंकले उकालो लाग्दै ८४३५.५२ को उचाईमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा पाचँ वटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भए। आज सानिमा जनरल इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढ्दै पोजेटिभ सर्किट लाग्यो। यो कम्पनीको सेयरमूल्य ४५ रुपैयाँले बढ्दै प्रतिकित्ता ४९९ रुपैयाँ कायम भयो। यस्तै आज हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य पनि ६.२९ प्रतिशतले बढ्दै प्रतिकित्ता ५४१ रुपैयाँ कायम भयो। नेशनल लाइफ इन्स्योरेन्सको सेयरमूल्य पनि५.२९ प्रतिशतले वृद्धि हँुदै प्रतिकित्ता ८१६ रुपैयाँ कायम भयो। यसैगरी अर्काे जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य ५.२८ प्रतिशतले बढ्यो। यो वृद्धिसँगै कम्पनीको प्रतिकित्ता सेयरमूल्य १४९६ रुपैयाँ कायम भयो। आज एशियन लाइफ इन्स्योरेन्सको सेयरमूल्य ५.१२ अंकले बढ्दै प्रतिकित्ता ८०० रुपैयाँ कायम भयो।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा उछाल आएको छ। यो दिन नेप्से परिसूचक २५.९८ अंकले बढ्दै १६७८.७९ को उचाईमा पुग्यो। यो दिन बजारमा १९६ कम्पनीका ९६ लाख ५७ हजार ६७७ कित्ता सेयर ४ अर्ब ९ करोड ६१ लाख ९० हजार २५६ रुपैयाँमा किनबेच भयो।
आज दुईवटा समूह बाहेक अन्य सबै समूहमा हरियाली छायो। बैंकिङ समूह ७.११ अंकले बढेको यो दिन, व्यापार १०९.४९, होटल ८७.४३, विकास बैंक ८.०७, वित्त ३.८३, उत्पादन तथा प्रशोधन ४०.९, अन्य ४८.५८ र लघुवित्त ४.८९ अंकले बढे।
आज हाइड्रोपावर समूह ०.६८ र म्युचुअल फन्ड ०.०२ अंकले घटे।
आज तीनवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक र साल्ट ट्रेडिङको सेयरमूल्यमा १० प्रतिशत र सानिमा जनरल इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो। यो दिन नेपाल टेलिकम ९एनटीसी० को सेयरमूल्यमा पनि ९ प्रतिशत बढीले उछाल आयो।
आज विशाला बजार कम्पनीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ५ प्रतिशतको हाराहारीमा गिरावट आयो।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २८ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको २३ करोड ५८ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको २० करोड ८३ लाख रुपैयाँ, एनटीसीको २० करोड ६४ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको १६ करोड ८७ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको १६ करोड ७१ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको १० करोड ५१ लाख रुपैयाँ, प्राइम लाइफ इन्स्योरेन्सको १० करोड २७ लाख रुपैयाँ, अपी पावरको ९ करोड ७४ लाख रुपैयाँ र शिवम् सिमेन्ट्सको ९ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भयो।