काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज जीवन बीमा समूह उकालो लागेको छ। आज जीवन बीमा समूह २१६.८३ अंकले बढ्दै १२२५६.२२ को बिन्दुमा पुग्यो।
जीवन बीमा समूहमा वृद्धि देखिएपनि आज निर्जीवन बीमा समूह भने ओरालो लाग्यो। आज निर्जीवन बीमा समूह ३४ अंकले घट्दै ९८३४.१८ को बिन्दुमा सीमित बन्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीको पहिलो स्थानमा नेपाल पुनर्बीमा कम्पनी रह्यो। त्यस्तै रिलायन्स लाइफ, नेको इन्स्योरेन्स र आईएमइ जनरल इन्स्योरेन्स पनि सबैभन्दा धेरै कमाउने शीर्ष १० को सूचीमा अटाउन सफल भए। आज नेपाल , पुनर्बीमा कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढ्दै पोजेटिभ सर्किट लाग्यो। यो कम्पनीको सेयरमूल्य १४५ रुपैयाँले बढ्दै प्रतिकित्ता १५९९ रुपैयाँ कायम भयो।
त्यस्तै रिलायन्स लाइफको सेयरमूल्य ६.३२, नेको इन्स्योरेन्स ५.०५ र आईएमइ जनरल इन्स्योरेन्स ४.९९ प्रतिशतले बढे।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
केहि दिनयता दोहोरो अंकले बढीरहेको नेप्से परिसूचकमा आज भने एकल अंकको मात्रै वृद्धि भयो। आज नेप्से परिसूचक ३.३५ अंकले बढ्दै २०००.४० को बिन्दुमा पुग्यो। नेप्से परिसूचकले २ हजार बिन्दु पार गर्दै नयाँ रेकर्ड कायम गरेको छ। यो दिन बजारमा १९७ कम्पनीका १ करोड ८५ लाख ७६ हजार ७०८ कित्ता सेयर ७ अर्ब ४० करोड ४१ लाख ५४ हजार ००७ रुपैयाँमा किनबेच भयो।
१२ वटा समूहमध्ये आज ५ वटा समूहमा मात्रै हरियाली छायो। अन्य समूह १०७.७ अंकले बढेको आज उत्पादन तथा प्रशोधन ९९.८१, हाइड्रोपावर ३८.६३ र लघुवित्त १.४३ अंकले बढे।
आज सबैभन्दा धेरै गिरावट व्यापार समूहमा आयो। व्यापार समूह १०७.६४ अंकले घटेको यो दिन बैंकिङ ४१.४३, होटल २०.८२, विकास बैंक ५२.८४, वित्त ७.४३ र म्युचुअल फन्ड ०.१८ अंकले घटे।
आज ५ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भए। नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य ९.९७, रसुवागढी हाइड्रोपावर ९.९६, अपर तामाकोशी ९.८५, नेपाल टेलिकम ९.७१ र सान्जेन जलविद्युत कम्पनी ९.६५ प्रतिशतले बढे।
आज नेपाल पुनर्बीमा कम्पनीले सर्वाधिक कारोबार गर्यो। कम्पनीको आज ६५ करोड ७९ लाख ८८ हजार १०२ रुपैयाँ बराबरको कारोबार भयो।